सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • तथ्यांक भन्छ- संक्रमण समुदायस्तरमै विस्तार

तथ्यांक भन्छ- संक्रमण समुदायस्तरमै विस्तार

6235
Shares
तथ्यांक भन्छ- संक्रमण समुदायस्तरमै विस्तार

काठमाडौं, २० भदाै । पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने देशभरको औसत ८.७ छ । जनस्वास्थ्य विज्ञका अनुसार पीपीआर ५ भन्दा माथि भए त्यसले संक्रमण समुदायस्तरमा व्यापक भएको वा परीक्षणको दायरा फराकिलो हुन नसकेको दर्शाउँछ ।

उपत्यकाको पछिल्ला सात दिनको पीपीआर एक दिनबाहेक दोहोरो अंकमा छ जुन आवश्यक मापदण्डभन्दा दुई गुणा बढी हो । विश्व स्वास्थ्य संगठनले विश्वभरका देशहरूलाई जनजीवन सामान्य रूपमा फर्काउनुपूर्व १४ दिनसम्म पीपीआर ५ प्रतिशतभन्दा तल हुनुपर्ने सुझाव दिएको छ ।

यो संख्या बढ्नुको मतलब हामीकहाँ लक्षण देखिएर वा कुनै समस्या भएर परीक्षण गराउन पुगेकाको मात्रै परीक्षण भइरहेको छ, समुदायस्तरमा परीक्षण भएको छैन भन्ने पनि हो । एकातर्फ देशैभर संक्रमण फैलने दर उकालो लाग्दै छ भने अर्कोतर्फ कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या भदौ १४ को तथ्यांकलाई आधार मान्दा १४ दिनमा दोब्बर भएको छ ।

उपत्यकामा पछिल्लो दुई साताको तथ्यांक केलाउँदा संक्रमितहरूको संख्या दोब्बर हुने दिन घट्दै गएको छ । बिहीबारको तथ्यांकअनुसार करिब ९ दिनमा उपत्यकामा संक्रमितको संख्या दोब्बर हुने देखिन्छ । देशभर संक्रमितहरूको संख्या दोब्बर हुन लाग्ने समय पनि घट्दै गएको छ । दोब्बर हुन लाग्ने समय जति घट्दै गयो, संक्रमण उति तीव्र भइरहेको छ भन्ने बुझिन्छ ।

साउन ६ गते लकडाउन अन्त्य भएको दिन देशभर संक्रमितहरूको संख्या दोब्बर हुने दर ८२.५ थियो । जसको मतलब करिब ८२ दिनमा संक्रमितको संख्या दोब्बर हुन्छ भन्ने अनुमान हो । तर, त्यो गणितीय अनुमानलाई धेरै पछि छोड्दै करिब ४० दिनमै संक्रमितको संख्या दोब्बर भयो । तथ्यांक विश्लेषण गर्ने अन्तर्राष्ट्रिय वेबसाइट स्टाटिस्टा डटकममा भदौ १५ मा प्रकाशित रिपोर्टमा भदौ १४ गतेको तथ्यांकअनुसार नेपालमा संक्रमितहरूको संख्या दोब्बर हुन ३४ दिन लागेको थियो । जबकि सोही रिपोर्टका अनुसार विश्वमा संक्रमितहरूको संख्या दोब्बर हुन ५० दिन लागेको देखिन्छ ।

भदौ १६ गतेसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा अबको अवस्थामा संक्रमितहरूको संख्या दोब्बर हुन करिब २६ दिन लाग्न सक्छ । हाल धेरै संक्रमित देखिएका जिल्लाहरूमा निषेधाज्ञा भए पनि संक्रमित हुने क्रम घटेको छैन । स्वरूप आचार्यले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

6235
Shares

ट्रेन्डिङ