सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दाहाल–नेपाल समूहको बन्दः आगजनीदेखि तोडफोडसम्म

दाहाल–नेपाल समूहको बन्दः आगजनीदेखि तोडफोडसम्म

4885
Shares
दाहाल–नेपाल समूहको बन्दः आगजनीदेखि तोडफोडसम्म

काठमाडौं, माघ २३ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बताए पनि आन्दोलनकारीले यातायातका साधनमा आगजनी र तोडफोड गरेपछि बन्द अपेक्षित रूपमा शान्तिपूर्ण हुन सकेन ।

बन्दका क्रममा आन्दोलनकारीले एउटा ट्याक्सी जलाइदिएको र ८६ वटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आमहडतालको आयोजना गरेको दाहाल–नेपाल समूहले भने आमहडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको छ । आन्दोलनका क्रममा जबर्जस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रहरीले सो पार्टीका नेता कार्यकर्तासहित १८८ जनालाई पक्राउ गरेको थियो ।

नेकपा प्रवक्तासमेत रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आमहडताल सफल भएको दाबी गरेका छन् । आमहडतालका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारीले तोडफोड गरेपछि स्थिति अशान्त बनेको थियो । नेपाल बन्द गर्न पूर्वप्रधानमन्त्रीहरू सुरक्षा दलबलसहित आफैं खटिएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत बन्दमा जुटेका थिए ।

यातायात अवरुद्ध भएका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो । बिरामीसमेत मर्कामा परेका थिए । देशभरका व्यापारिक संघसंगठनले पनि बन्दको विरोध जनाएका छन् । सरकारी दमको भत्र्सना गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्दै आन्दोलनका क्रममा सञ्चारकर्मीलाई परेको मर्काका लागि नेकपा दाहाल–नेपाल समूहले दुःख व्यक्त गरेको छ ।

‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिले आन्दोलनबाट तर्सेको सरकारले बिहानैबाट धरपकड गरेको उल्लेख गरेको छ । काठमाडौंसहित देशैभरबाट आफ्ना नेता कार्यकर्तालाई पक्राउ गर्नुका साथै कुटपिट गरेकामा सरकारको आलोचना भएको बताइएको छ ।

नेकपाले आमहडतालमा प्राप्त जनसमर्थनले उत्साही बनाएको र संघर्षका माध्यमबाट प्रतिगामी कमदलाई परास्त गर्ने ऊर्जा मिलेको जनाएको छ । साथै आम जनसमुदायलाई आन्दोलनमा गोलबन्ध हुन अपिलसमेत गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

4885
Shares

ट्रेन्डिङ