सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज, एमाले भर्सेस एमाले चुनावी मैदानमा

वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज, एमाले भर्सेस एमाले चुनावी मैदानमा

5295
Shares
वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज,  एमाले भर्सेस एमाले चुनावी मैदानमा

काठमाडाैं, ६ जेष्ठ : बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदै छ। बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचनमा नेकपा एमालेकै दुई जनासहित तीन उम्मेदवार चुनावी मैदानमा छन्।

एमालेको संस्थापन पक्षका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्। ​देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ।

यो उप-चुनावमा बागमती प्रदेश सभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष २ सय ३८ जना गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन्।

प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ। त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ। प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ। बागमती प्रदेशमा एमाले मतभारका आधारमा पहिलो पार्टी हो।

एमालेसँग प्रदेशसभाका ५६ जनाको २ हजार ७ सय ८८ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ मतभार छ। दुवै जोड्दा एमालेसँग कुल ५ हजार १ सय ३० मतभार छ। नेपाली कांग्रेससँग प्रदेशसभातर्फ १ हजार ५६ र स्थानीय तहतर्फ १ हजार २ सय २४ मतभार छ। त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ मतभार छ।

बागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार छ।

कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल खनाल समूह एकै ठाउँ भएको अवस्थामा देवकोटाले जित्ने देखिन्छ। किनकी प्रदेश सभामा २१ र स्थानी तहका ३८ जना नेपाल खनाल पक्षमा छन।

मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ।

निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ।

निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले सबैमा आग्रह गरेको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ। हेटौडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ। केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन्।

ओलीको चेतावनी
नेकपा–एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा उप चुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई भोट दिन पार्टीका मतदातालाई अपील गरेका छन्। मतदान हुनु एक दिन अघि अपील सार्वजनिक गरी पार्टीका सबै मतदातालाई गृहमन्त्री थापालाई भोट दिन निर्देशन दिएका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री थापालाई भोट दिन नसकिने भन्दै आफू पक्षीय मतदाताले विवेक प्रयोग गर्ने बताएको भोलि पल्ट अध्यक्ष ओलीले थापाका लागि भोट मागेका हुन्। अन्यथा कारवाही गर्ने समेत ओलीले चेतावनी दिएका छन्। विपक्षमा मत हाले क्षमा नदिने ओलीको चेतावनी सहित ओलीले नेपाल खनाल पक्षलाई सचेत गराएका छन्। पार्टीको उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिन्ह अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको पनि ओलीको अपीलमा उल्लेख छ।

पार्टीभित्र देखा परेका समस्या समाधानका लागि कार्यदल बनेर काम समेत शुरु भईसकेको अवस्थामा एकतालाई सुदृढ गर्न योगदान गर्नु सबैको कर्तव्य हो भन्दै ओलीले वरिष्ठ नेता नेपालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। थापा नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएको हुँदा उहाँलाई मतदान गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा बल पुग्ने समेत ओलीको तर्क छ।

स्वविवेकको अधिकार
नेकपा एमालेका नेता माधवकुमार नेपालले मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको छ। नेपालको सचिवालयले मंगलबार विज्ञप्ती निकालेर अन्य दल समेतलाई सहमत गराएर आफूले डाक्टर खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएको भन्दै अहिले अन्यथा गर्न नसक्ने स्पष्ट बताएका छन्।

मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभाका उप-चुनावमा आफू लाई सहयोग गर्न भन्दै नेपाल निवास कोटेश्वर पुगेका थिए। भेटमा वरिष्ठ नेता नेपाल सकारात्मक रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको थियो।

आयोगको ध्यानाकर्षण
राष्ट्रिय सभा उप-निर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भनेर अपील सार्वजनिक गरेपछि आयोगको प्रतिक्रिया आएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्ति निकालेर यसलाई आचार संहिता विपरित भनेका छन्। आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गरिएको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

आचार संहिताको उल्लंघन स्वीकार्य नहुने भन्दै आयोगले आचार संहिता उल्लंघन गर्नेहरुको अभिलेख राखेर कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री ओली विरुद्ध उजुरी परेमा आयोगले जाँचबुझ गरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ। आयोगले निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ।

कारबाही गर्न प्रचण्डको माग
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन्।

प्रचण्डको सचिवालयले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।’

प्रचण्डले सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको बताएका छन्।

‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरूलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ। यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ?’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

5295
Shares

ट्रेन्डिङ