सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

4335
Shares
माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि

 

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ । त्यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने छ ।

बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ ।

सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठाैँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षण काठमाण्डौमा आइसकेका छन् ।

माओवादीले सहभागीलाई आफैँ खाने बस्ने प्रबन्ध गर्न भनेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् ।

ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युनिस्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने सम्भावना छ ।

राजनीतिक, वैचारिक र साङ्गठानिक रुपमा फरक मत राख्ने नेताहरु नहुँदा पुनः नेतृत्वमा आउन प्रचण्डलाई सजिलो छ । प्रचण्डले आफ्ना पुराना साथीहरुलाई पार्टीमा फर्काउने बताए पनि त्यो सम्भावना कम छ ।

प्रचण्डले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने पनि बताउनुभएको छ ।

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकता गरेको माओवादी गएको फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशमा कुल एक हजार ६ सय ३१ को प्रतिनिधित्व हुनेछ ।

नियमित प्रक्रियाबाट छानिएका एक हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी एक हजार ६ सय ३१ जनाको सहभागिता रहने माओवादीले जनाएको छ ।

माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।

 

4335
Shares

ट्रेन्डिङ