सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले–कांग्रेसको छलफलले प्रचण्ड–नेपालको सातो गयो : ओली

एमाले–कांग्रेसको छलफलले प्रचण्ड–नेपालको सातो गयो : ओली

4190
Shares
एमाले–कांग्रेसको छलफलले प्रचण्ड–नेपालको सातो गयो : ओली

 

 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)को सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।

 

शनिबार काठमाडौंमा एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका विषयमा आफूहरू तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताए ।

 

एमसीसीबारे संसद्मा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाका कारण एमाले संसद्को कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उनले उल्लेख गरे ।

 

सत्ता गठबन्धन जोगाइदिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हारगुहार गरिरहेको उनको भनाइ छ । एमाले–नेपाली कांग्रेसको छलफलले उनीहरूको सातो गएको ओलीले जिकिर गरे ।

 

 

उनले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरू एमालेलाई सिध्याउन खुलेरै लागेको टिप्पणी पनि गरे । अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले ‘फुल बेन्च’लाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधान बाहिर गएर सरकार परिवर्तनको फैसला गरेको पुष्टि गरिसकेको तर्क उनले गरे ।

 

एमालेलाई चोलेन्द्रशमशेर जबरा वा अरू कुनै न्यायाधीशसँग सरोकार नरहेको भन्दै उनले लोकतन्त्रलाई सुदृढ पार्न न्यायालयको सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । प्रधानन्यायाधिशविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत नहुने दाबी पनि उनले गरे ।

 

गठबन्धनको ध्येय न्यायिक क्षेत्रलाई अस्तव्यस्त बनाउनु मात्र रहेको आरोप उनले लगाए । अझै पनि निर्वाचन सार्ने खेल भइरहेको भन्दै समयमा नै निर्वाचन गर्न दबाब दिनुपर्ने र समयमा नै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने उनले बताए ।

 

 

4190
Shares

ट्रेन्डिङ