सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ‘यौन दुर्व्यवहार’ घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास

‘यौन दुर्व्यवहार’ घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास

725
Shares
‘यौन दुर्व्यवहार’ घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास

अछाम | आफूमाथि भएको यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका–५ की १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी छन् । यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको महसुस गर्दै ती किशोरीले गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन् ।

पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरे । मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए ।

घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन् । आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले । उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए ।

गाउँमा दुवै पक्षले किशोरीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा मिलाउने प्रयास गरिरहे । ‘घटना घटिसकेपछि गाउँमा जनप्रतिनिधिसहित अरुले अलिकति पैसा लिएर मुद्दा मिलाउन भने । छोरीले मलाई पैसा चाहिँदैन यसले म माथि आक्रमण गरेर इज्जत लुटेको छ । मलाई न्याय चाहिन्छ भनिन्,’ किशोरीकी आमाले भनिन्,‘केटाले सबैका अगाडी मैले केही पनि गरेको छैन भन्न थाल्यो । घटना पनि नस्वीकार्ने र मुद्दामामिला पनि गर्नु हुन्न भन्न थाले । त्यो कुरा छोरीले मानिन ।’

उनकाअनुसार केटी पक्ष मुद्दामामिलामा गए उल्टै बदनाम हुने भन्दै किशोरीलाई फकाउन लागेका थिए । गाउँमा सबै मिलेर मुद्दामामिलामा जानबाट रोकेपछि ती किशोरी आइतबार तुर्माखाँद गाउँपालिकाको कार्यालयसम्म पुगिन् । कार्यालयमा गएर कानुनी प्रक्रियामा जान खोजेकी किशोरीले कसलाई भेट्ने, के गर्ने मेसो पाइनन् । न्याय खोज्न गाउँपालिका केन्द्रमा पुगेकी किशोरी निराश हुँदै घर फर्किन् ।

‘मेरा श्रीमान् घरको कामले तराई गएका छन् । छोराबुहारी बम्बै छन् । घरमा छोरी र ममात्रै छौं । गाउँले भएका सबै एक भए, छोरीका लागि बोलिदिने कोही भएन,’ उनकी आमाले भनिन्,‘दिउँसो म पनि गोरुबाख्रा चराउन गएँ । साथमा गइदिने अरु कोही भएन । साँझ घर आउँदा मेरो त कोही पनि रहेनछ भनेर आत्तिरहेकी थिइँ ।’ उनका अनुसार आँत्तिदै घरपुगेकी किशोरी छट्पटाइरहेकी थिइन् । ‘मेरो शरीरमाथि आक्रमण पनि गर्ने, समाजका मान्छे उल्टै केटाको पक्ष लिने, मेरो इज्जत नै गयो भन्न थाली । धेरै रोइकराइ गर्न थालेपछि म सम्झाउँदै थिएँ,’ उनकी आमाले भनिन्,‘म खाना पकाउन थालेँ । गाइबस्तुलाई घास हाल्न गएका बेला गोठभित्र पासो लगाएर छट्पटाइ रहेको देखेँ र हत्तपत्त पासो काटेँ ।’

आइतबार राति नै उनलाई तुर्माखाँद स्वास्थ्यचौकी पुर्‍याइएको र त्यता पनि सञ्चो नभएपछि जिल्ला अस्पताल मंगलसेन लगिएको उनले बताइन् । किशोरीमाथि भएको घटना बारे बुझ्न गाउँमा सबैलाई बोलाएपछि छलफलमा आफू पनि सहभागी भएको वडा सदस्य धनीराम जैशीले स्विकारे ।

‘गाउँमा मिलाउन सबै बसेको साँचो हो । किशोरीले मिल्ने कुरा मान्दैन भनेपछि गाउँपालिकातिर गएकी हुन्,’ वडा सदस्य जैशीले भने,‘जनप्रतिनिधिको हिसाबले बोलाएपछि जानै पर्‍यो । आत्महत्या नै गर्छ होला जस्तो लागेको थिएन ।’ किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए । ‘किशोरलाई नियन्त्रणमा लिएका छौं । किशोरीको पनि उपचार भइरहेको छ । घटनाबारे थप बुझेर आवश्यक प्रक्रियामा जान्छौं,’ उनले भने ।

725
Shares

ट्रेन्डिङ