सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नयाँ वर्ष २०७४ सालको शुभकामना

नयाँ वर्ष २०७४ सालको शुभकामना

3810
Shares
नयाँ वर्ष २०७४ सालको शुभकामना

आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
इतिहासकार प्राडा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउनुहुन्छ । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यवहारमा इस्वी संवत चलेको छ”–उहाँले भन्नुभयो ।
विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउनुहुन्छ । “सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उहाँले भन्नुभयो ।
राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइन्छ ।
नयाँ वर्षका अवसरमा काठमाडौँको उत्तरी भेगस्थित बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार ९वागमती नदीको उद्गमस्थल० मा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।
काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जन विश्वास छ ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
नयाँ वर्षकै अवसरमा भक्तपुरमा एकसाता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गर्नुभएको शुभकामना सन्दैमा “राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ”– सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
सन्देशमा भनिएको छ,–“लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गर्दछु ।” राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु हुन्न भन्नुभएको छ ।
सन्देशमा उहाँले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्रीले २०७३ साल केही उपलब्व्धिका दृष्टिले अविस्मरणीय हुनुका साथै एकात्मक र केन्द्रीकृतरुपमा लामो समयदेखि प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पु¥याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
विसं २०७३ मा विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गरी केही सहरहरूमा विद्युत्भार कटौतीको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भए छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको प्रधानमन्त्रीको भनाइ छ ।
सन्देशमा भनिएको छ,–“वैदेशिक रोजगारमा रहेका लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षाका लागि म्यादी जीवन बिमा सुरुवात गरी महत्वपूर्ण नीतिगत सुरुवात ग¥यौँ ।”
“चौविस वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि २०७३ को एउटा महत्वपूर्ण उपलब्धि नै हो, यी उपलब्धि हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु”–प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
नयाँ वर्षले नेपाली जनताले हालसम्म गरेका सङ्घर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको प्रधानमन्त्रीको भनाइ छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा प्रधानमन्त्रीले विशेष आह्वान गर्नुभएको छ ।
निर्वाचनमा सक्रियरुपमा भाग लिएर ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गर्नुका साथै प्रधानमन्त्रीले संविधानले तोकेको समयसीमाभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको सन्देशमार्फत जानकारी दिनुभयो ।
सरकारले २०७४ मा सङ्घीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानुन तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनीतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गर्नुभयो ।
प्रधामन्त्रीले नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गर्नुका साथै सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस
 

3810
Shares

ट्रेन्डिङ