सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राणघातक रोग रेबिज : काभ्रेका १० व्यक्तिको स्वास्थ्यमा निगरानी

प्राणघातक रोग रेबिज : काभ्रेका १० व्यक्तिको स्वास्थ्यमा निगरानी

18370
Shares
प्राणघातक रोग रेबिज : काभ्रेका १० व्यक्तिको स्वास्थ्यमा निगरानी

काभ्रे : पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई शनिबार प्राणघातक रेबिजविरुद्धको दोस्रो खोप लगाइएको छ। स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरूलाई घरमै स्वास्थ्य–निगरानीमा राखिएको जनाएको छ।

दुई दिनअघि रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’अनुसार खोप लगाइएको कुशादेवी स्वास्थ्यचौकीले जनाएको हो।

चौकीप्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण बिहीबार स्थानीय २३ वर्षीय मदन सापकोटाको उपचारका क्रममा मृत्यु भएको थियो। उनको सम्पर्कमा आएकालाई घरमै स्वास्थ्य–निगरानीमा राखी दोस्रो खोप लगाइएको साहले बताए।

मृतक परिवारका अनुसार करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो। उक्त घटना लुकाएका सापकोटा केही साताअघि मात्रै बिरामी परेको र काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपश्चात काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लगिएको थियो। उपचारका क्रममा रेबिजकै कारण गत बिहीबार सापकोटाको मृत्यु भएको साहले जानकारी दिए।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट गत वर्ष एक महिनाको अवधिमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ मा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो। कुकुरले टोकेका उनीहरू एक महिनापछि उपचारका क्रममा मृत्यु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले जनाएको छ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ। त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका–४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो। ती युवालाई ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो।

युवकसहित मृत्यु भएका चारैलाई कुकुरले टोकेको कारण रेबिज रोग लागेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो। उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको जनाइएको छ।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ। साथै केन्द्रले सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षणसमेत गरेको थियो। नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला रेबिजविरुद्धको २०० लाई भ्याक्सिन लगाइएको थियो।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्भेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको तथ्याङ्क सङ्कलन गरेको थियो।

यसमध्ये तीन हजार कुकुरलाई बागमती प्रदेश सरकार तथा विभिन्न संस्थाको प्राविधिक तथा अन्य सहयोगमा रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरणसमेत गरिएको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताए। उनले, ‘बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिने कार्यक्रम छ।’

हुमागाईँका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेक्षण गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम विस्तार गर्दै लगिनेछ। सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा भ्याक्सिन राखिएको छ। साथै केन्द्रले समय–समयमा सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रममा सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने गरिएको छ।

एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धतासमेत जनाएका थिए।

कुकुरको टोकाइबाट हुने रेबिज रोगबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। सामुदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ। रासस

18370
Shares

ट्रेन्डिङ