सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्रपतिबाट दुग्ध उद्योग अवलोकन

राष्ट्रपतिबाट दुग्ध उद्योग अवलोकन

3080
Shares
राष्ट्रपतिबाट दुग्ध उद्योग अवलोकन

भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज गुजरात राज्यको राजकोटस्थित दुग्ध किसानद्वारा सहकारीमार्फत सञ्चालित राजकोट डेरीको अवलोकन गर्नुभएको छ । आफ्नो भारत भ्रमणका क्रममा बुधबार राजकोट आइपुग्नुभएका राष्ट्रपति भण्डारीले आज बिहान सो डेरीको अवलोकन गर्नाका साथै डेरी सञ्चालन, उत्पादन तथा प्रशोधनका बारेमा जानकारी लिनुभयो । राष्ट्रपति भण्डारीले उक्त उद्योगमा पुगेर दुग्ध उत्पादनका प्रशोधन कक्षको अवलोकनसमेत गर्नुभएको थियो ।
सन् १९६१ मा स्थापित सो सहकारी दुग्ध सङ्कलन केन्द्र सन् १९८८ मा राजकोट जिल्ला दुग्ध सङ्घका रुपमा संस्थागत भएको हो । सो दुग्ध सहकारीअन्तर्गत आठ सय पाँच दुग्ध सहकारी समूह रहेकामा चार सय ४८ अर्थात् ५७ प्रतिशत महिला दुग्ध समूह सहकारीमा आबद्ध छन् । सहकारीमा राजकोट क्षेत्रका छ सय १२ गाउँका ६४ हजार दुग्ध उत्पादक किसान सदस्य आबद्ध छन् । तीमध्ये २९ हजार ग्रामीण गृहिणी महिला दुग्ध उत्पादन किसान सदस्य छन् ।
हाल भारत र छिमेकी मुलुकमा समेत राम्रो बजार बनाउन सफल अमूल दूध, घिउ, दही, चिज र दूधबाट उत्पादित मिठाइजन्य पदार्थ सो उद्योगमार्फत उत्पादन हँुदै आएका छन् । उद्योगको दैनिक १० लाख लि दूध प्रशोधन क्षमता भए पनि हाल दैनिक छ लाख लि दूध प्रशोधन हुने गरेको उद्योगका अध्यक्ष एसी सिन्हाले जानकारी दिनुभयो । दैनिक छ लाख लि दूध प्रशोधन गर्ने क्षमता भएको उद्योगले दैनिक तीन लाख लि दूध चिस्यान गर्दै आएको बताइएको छ ।
सो उद्योगको दूध तथा दुग्धजन्य पदार्थको उत्पादन क्षमता पाँच वर्षदेखि सात प्रतिशतले बढिरहेको उद्योगका अध्यक्ष सिन्हाले जानकारी दिनुभयो । उद्योगको दूध तथा दुग्धजन्य पदार्थको भारु सात अरब ३६ करोड वार्षिक कारोबार र संस्थामा आबद्ध सबै सहकारी समूहको समग्र कारोबार भारु २७ करोड रहेको छ । सो उद्योगबाट उत्पादित वस्तुबाट प्राप्त सम्पूर्ण रकममध्ये ८५ प्रतिशत रकम गाई र भँैसीपालनका लागि ग्रामीण किसानलाई दूध उत्पादनमा लगानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस अवसरमा शान्तिमन्त्री सीतादेवी यादव, सांसद, राष्ट्रपतिका परराष्ट्रविज्ञ डा मदनकुमार भट्टराई, सञ्चारविज्ञ माधव शर्मा, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, राजनीतिक तथा मानवअधिकारविज्ञ सुशील प्याकु¥याल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपतिकी सुपुत्री उषाकिरण, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरी, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता रहेको थियो । यसअघि राष्ट्रपति भण्डारीसँग आज नै गुजरातको राजघाटमा नेपालका विभिन्न क्षेत्रबाट आएर विभिन्न पेसा व्यवसाय गर्ने प्रवासी नेपालीले भेट गरेका थिए ।
राष्ट्रपति उडिसामा
उडिसा (भारत)– राष्ट्रपति भण्डारी आज भ्रमणको चौथो दिन भारतको अर्को मुख्य औद्योगिक तथा पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वर आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी गुजरातको राजकोटबाट एयर इन्डियाको विशेष विमानबाट आज अपराह्न उडिसा राज्यमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएको हो ।
उडिसा आउँदा राष्ट्रपति भण्डारीलाई बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा उडिसा राज्यका वित्तमन्त्री प्रदीप अमात्तलगायत उडिसा राज्य सरकारका उच्च सरकारी अधिकारीले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले आजै यहाँस्थित उजाला महिला सशक्तीकरण कार्यक्रममा सहभागी भएर सो कार्यक्रमबारे जानकारी लिनुहुने छ । यसलगत्तै राष्ट्रपति भण्डारीले यहाँस्थित लिङ्गराज मन्दिर पुगेर दर्शन गर्नहुनेछ ।
राष्ट्रपति भण्डारीको सम्मानमा आज साँझ उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले रात्रिभोजको आयोजना गर्नुहुनेछ । शुक्रबार राष्ट्रपति जगन्नाथपुरीस्थित प्रसिद्ध तीर्थस्थल जगन्नाथ मन्दिर पुगेर त्यहाँ दर्शन तथा पूजाआजा गर्नुहुने कार्यक्रम छ । रासस (विशेष प्रतिनिधि भरत केसी)

3080
Shares

ट्रेन्डिङ