सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्वाचनले रोकेन विदेश जाने युवालाई

निर्वाचनले रोकेन विदेश जाने युवालाई

2750
Shares
निर्वाचनले रोकेन विदेश जाने युवालाई

वैशाख २८,काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ। लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले होला, जताततै निर्वाचनकै चर्चा छ। निर्वाचनमाआफ्नो अमूल्य मत खसाल्न विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन्। तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै पारिवारिक समस्या ठूलो छ। मनमा भोट खसाल्ने रहर हुँदाहुँदै पनि उनीहरू निर्वाचनको मुखैमा देश छोडिरहेका छन्। वैदेशिक रोजगारीका लागि देश छाड्ने युवाहरूलाई यो चुनावले समेत रोक्न सकेको छैन।
‘आफ्नो मातृभूमिलाई छाड्नुपर्दा एक किसिमको पीडा छ, तर पनि यहाँ बसेर जिन्दगी चल्ने देखिएन, त्यसैले देश छाड्दै छु,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरिया जाँदै गरेका युवा पीताम्बर पन्तले भने, ‘निर्वाचन हुने खानेहरूका लागि मात्र रहेछ, हामीलाई त काम गर्नु छ, यहाँ काम छैन, त्यसैले जाँदै छु।’ गुल्मीका पन्त मात्र होइन, मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ जना नेपाली युवा कोरियन एयरबाट कोरियाका लागि प्रस्थान गरे। यी सबै युवाहरूको अनुभव र भोगाइ पनि एउटै हो।
यही भीडमा थिए कास्कीका वाग्ले। गाउँमा सबै साथीसँगी निर्वाचन प्रचारप्रसारमा लागेका छन्। तर, उनी मंगलबार नै कोरियातिर लागे। ‘चुनावमा मत हाल्ने मन थियो, तर के गर्नु मत हालेर पेट भरिँदो रहेनछ, आफ्ना लागि आफैंले केही गर्नुपर्‍यो,’ उनले भने, ‘भोट जितेर जाने जान्छन्, निर्वाचनको भोलिपल्टदेखि आफ्नो समस्या ज्यूँका त्यूँ हुन्छ।’ देशमा निर्वाचनको माहोल तातिरहेका बेला पनि वैदेशिक रोजगारका लागि विदेश जाने युवाहरूको संख्या भने उत्तिकै छ। दिनहुँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारका लागि विदेश गइरहेका छन्। यही भीडमा भेटिएका रूपन्देही रुद्रपुरका दुर्गा कुँवरले चुनाव शब्द सुन्नै चाहेनन्।
‘दाइ † यो चुनावसुनाबको कुरा नगर्नुस्,’ उनले भने, ‘चुनाव दुई दिनका लागि हो, आउँछजान्छ, तर जिन्दगी त्यो दुई दिनले चल्दैन।’ १९ वर्षका कुँवर यदि नेपालमै हुन्थे भने स्थानीय तहको निर्वाचनको दोस्रो चरणमा मताधिकारको प्रयोग पहिलोपटक गर्ने थिए। तर, उनले त्यो अधिकार प्रयोग गर्न पाएनन्। तर पनि उनी खुसी नै छन्, किनकि उनी कोरियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा केही समयमै चेक–इन गर्दै थिए। यो साता मात्र ईपीएस प्रणालीबाट २ सय ६३ जना कोरियाका लागि जाँदै छन्।
ईपीएस कार्यालयको तथ्यांकमा जसमध्ये सोमबार ३२ जनाको टोली कोरिया गएको थियो। त्यस्तै, मंगलबार ३२ जनाको टोली त्यसतर्फ लाग्यो। बुधबार मात्र ६५ जनाको ‘कमिटेड वर्कर’ (यसअघि कोरियामा पाँच वर्ष बिताएर फर्किएका कामदार) हरू कोरियाका लागि गएका छन्। त्यस्तै, २९ गते शुक्रबार १ सय ३४ जना नेपाली युवा विभिन्न विमानबाट कोरियाका लागि जाँदै छन्। त्यति मात्र होइन, १ जेठमा ३ सय ९० जना नेपाली युवाहरूको कोरिया उडानको सम्भावित तालिका ईपीएस शाखाले सार्वजनिक गरेको छ।
यी युवा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउनेछैनन्। त्यस्तै, ईपीएस शाखाले १ सय १८ जनाको सम्भावित उडान तालिका ३ जेठमा रहेको तालिका सार्वजनिक गरेको छ। राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारीदेखि युवाहरूलाई लक्षित गर्दै कार्यक्रम समावेश गरे पनि ती कार्यक्रम र प्रतिबद्धताले भने विदेश जाने युवाहरूलाई समेट्न सकेको छैन। ‘यहीँ केही गरौँ भनेको त हो नि, तर केही भएन, हातमा सर्टिफिकेट बोकेर धेरै ठाउँ धाएँ, नेताहरूको पछि पनि लाएँ, उपलब्धि केही भएन,’ गुल्मीका पन्तले भने, ‘आँखिर विदेश नै रहेछ हामी जानुपर्ने, यहाँ पसिना बगाउने वातावरण भएन, विदेश जानुको अर्को विकल्प नेपालमा भेटिएन।’
-राजधानी दैनिक

2750
Shares

ट्रेन्डिङ