सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • क्रिकेट रंगशालामा डोजर : के हो विवादको चुरो ?

क्रिकेट रंगशालामा डोजर : के हो विवादको चुरो ?

5220
Shares
क्रिकेट रंगशालामा डोजर : के हो विवादको चुरो ?

१७ जेठ, चितवन; कुञ्जना घिमिरे ‘सुन्तली’ले जतिबेला हातमा एक लाख एक हजार सहयोगको चेक बोकिरहेकी थिइन्, मोबाइलमा खबर पढिन्– गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको बार भत्काइयो ।रंगशालाको बार मात्र भत्किएन, सुन्तलीको मन पनि भत्कियो । यो खबरले उनी निकै दुःखी भइन्

यो घटनापछि कुञ्जना र उनका श्रीमान सीताराम कट्टेल धुर्मुस–सुन्तली फाउण्डसेनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । डोजर लगाएको आरोपमा प्रकाश कँडेलसहित १७ जना पक्राउ परेका छन् । नेकपाका नेता रहेका उनीहरुलाई पार्टीले समेत आन्तरिक कारवाही गरेको छ ।उनीहरुलाई कानूनी कारबाही गरिने स्थानीय प्रशासनले प्रष्ट पारेको छ । तर, रंगशालाको विवाद साम्य हुने भन्दा झनै बढ्ने संकेत देखिएको छ ।

किन चल्यो डोजर ?

धुर्मुस सुन्तली फाउण्डेसनले देश–विदेशमा रहेका नेपालीहरुसँग चन्दा उठाएर भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सीमानामा रंगशाला बनाउँदैछ । रंगशालाको डीपीआर बन्ने क्रममा रहेकाले काम सुरु भइसकेको छैन । तर, फाउण्डेसनले साइड कार्यालय स्थापना गरेर जग्गा संरक्षणको काम थालेको छ ।

फाउण्डेसनले तीनतिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फ स्थानीयले अवरोध गरेका थिए । कारण थियो बाटो । रंगशालाको पश्चिमतर्फ अहिले कतै ६ मीटर त कतै ७ मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन ।

स्थानीयका अनुसार रंगशाला निर्माणसँगै यो बाटो ३१ मिटरको हुने सक्ने वडाध्यक्षले बताएका छन् । तर, भोलि रंगशाला बनिसकेपछि बाटो विस्तार गर्दा वस्ती उठ्ने त्रास छायो । त्यसैले उनीहरुले माग अघि सारे– विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् ।

त्यसका लागि विश्वविद्यालय ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस सुन्तली फाउण्डेशनलाई दबाव दिने जस्ता काम स्थानीयले गरे । फाउण्डेशनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरे ।

चोकमा घर भएका स्थानीय इन्द्रबहादुर बस्नेत अनलाइनखबरसँग भन्छन्, ‘जनताले रंगशाला नबनोस् भन्ने चाहेको छैन, हामी सहयोग गर्छाैं । तर, बाटो विस्तार नगरी सुख छैन । अहिले नै बाटो दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

पछिल्लोपटक सीताराम कट्टेलल धुर्मस चितवन आएका बेला त्यहाँका स्थानीय टोल विकास संस्थाका अगुवाहरुको बैठक फाउण्डेशनकै कार्यालयमा बसेको थियो । बैठकमा ३० भन्दा बढी स्थानीय अगुवा सहभागी थिए ।

चार महिनादेखि उठेको बाटोको यही विवादका कारण जस्तापाताको बार लगाउन नपाउँदा सामानको सुरक्षामा चुनौती थपिएको सीताराम कट्टेलले स्थानीयसँग बताए । रंगशालाका लागिसमेत बाटो चाहिने भएकाले फाउण्डेशनको तर्फबाट सक्दो सहयोग गर्ने उनले बैठकमा बताएका थिए ।तर, बाटोका लागि यति मिटर छाड्न सक्छु भनेर अहिल्यै निर्णय दिन नसक्ने कट्टेलको भनाइ थियो । रंगशालाको डीपीआर तयार भएपछि बाटोका लागि कति जग्गा छाड्ने भन्ने टुंगो लाग्ने बताएका थिए ।

रंगशालाको छेउसम्म करीव १० मिटर जमिन बाटोका लागि छाड्न सकिने गरी डीपीआर बनाउने काम भइरहेको जानकारी पनि कट्टेलले गराएका थिए । धुर्मसले बैठकमा भनेका थिए, ‘अहिले ७ मिटरको बाटो छ । हाम्रो साइडबाट कम्तिमा १० मिटर छाड्दा १७ मिटर हुन्छ, यहाँहरुले ३/४ मिटर छाड्नुभयो भने ३१ मिटर हुन्छ ।सो बैठकमा धुर्मुसले सामान सुरक्षाका लागि जस्ताको बार लगाउन दिन अनुरोध गरेका थिए । स्थानीयले जस्ताले बार्न दिने सहमति त दिए तर, त्यसका लागि दुई दिन समय मागे ।

स्थानीयले समय मागेपछि बैठकमा लिखित सहमति भएन । सोमबार दुई दिन कट्यो, थप केही कुरा भएन । त्यसपछि मंगलबार फाउण्डेशनले जस्ताले बार लगाउन थाल्यो । र, बुधबार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएर बार भत्काइयो ।तर, फाउण्डेशनले लगाएको मात्र होइन, कृषि तथा वनविज्ञान विश्वविद्यालयको तारबार र रुखसमेत ढलाइएको छ । विश्वविद्यालयका अनुसार करीव ५०१ सिमेन्टका पोल लडाइएको छ, जसमध्ये आधा जति फाउण्डेशनले निर्माण गर्न लागेको रंगशालाको क्षेत्रमा पर्छ भने आधा विश्वविद्यालयतिर ।

प्रकाश कँडेल सत्तारुढ नेकपाका स्थानीय नेतासमेत हुन् । उनकै अगुवाइमा डोजर लगाउनुलाई कतिपयले जग्गाको ब्यापारसँग जोडेर हेरे । यो बाटो ३१ मिटर भयो भने त्यस क्षेत्रको जग्गाको भाउ ह्वातै बढ्ने भएकाले अहिले रंगशाला बनेकै बेला उनीहरुले चलखेल गरेको कतिपयको आरोप छ ।

 

-अनलाइनखबरबाट

5220
Shares

ट्रेन्डिङ