सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

पराजितलाई सांसद ‘उपहार’

3350
Shares
पराजितलाई सांसद ‘उपहार’

काठमाडौं, २१ भदाै । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा पराजित भएका नेताहरुलाई सांसद बनाउने निर्णय गरेसँगै पार्टीभित्र शीर्ष नेताहरुको आलोचना शुरु भएको छ । गत निर्वाचनमा पराजित भएका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेसँगै नेताहरुको आलोचना शुरु भएको हो ।

यसअघि निर्वाचनमा पराजित हुनुभएका सचिवालय सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य बनाइएको थियो । निर्वाचनमा जनताले मत नदिएर पराजित भएका व्यक्तिहरुलाई सांसद बनाएको यो पहिलो घटना भने होइन । पहिलो संविधान सभा निर्वाचनमा पराजित हुनुभएका तत्कालीन नेकपाका महासचिव माधवकुमार नेपाललाई पनि सांसद बनाउँदै प्रधानमन्त्रीसमेत बनाइएको थियो ।

निर्वाचनमा पराजित हुनेहरुलाई पार्टीको आन्तरिक शक्ति सन्तुलनको नाममा सांसद बनाउने शृंखला नेकपाभित्र चल्दै आएको छ । पार्टीभित्र महत्वपूर्ण जिम्मवारीमा रहेकाहरुलाई पनि सांसद बनाउन नेकपाभित्र परम्पराकै रुपमा विकास हुँदै आएको छ । निर्वाचन भएको सवा दुई वर्ष वितिसकेको छ ।तर पनि हारेका व्यक्तिहरु सांसद हुँदै मन्त्री बन्नसमेत लालायित देखिएका छन् । पार्टीमा लामो योगदान गरेका तर अवसर नपाएका नेताहरु धेरै भए पनि पार्टीभित्र सीमित नेताहरुको स्वार्थमा आफू अनुकूलका नेताहरुलाई सांसद र मन्त्री बनाउने क्रम चल्दै आएको छ ।

आम निर्वाचन २०७४ मा बर्दियाबाट पराजित भएको ३३ महिनापछि पार्टीले वामदेव गौतमलाई सांसद बनाउने निर्णय गरेको छ । गौतमले पछिल्लो समयमा पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि ६ बुँदे सहमतिको खाका अगाडि सार्नुभएको थियो । सोही खाकालाई आधार बनाएर नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलको प्रतिवेदनमार्फत जारी विवाद समाधानतर्फ गएको छ । पार्टीले २०७६ फागुन १४ मा नै गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरे पनि उहाँले अस्वीकार गर्नुभएको थियो । तर यसपटक भने गौतमकै चाहनामा राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो । गौतमले सांसद बन्नका लागि पाल्पामा धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव लड्ने तयारी गरे पनि असफल थियो ।

उक्त योजना असफल भएपछि काठमाडौं ७ बाट निर्वाचित रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सांसद बनाउने योजना बनेको थियो । चौतर्फी विरोध भएपछि गौतम पछाडि हट्नुभएको थियो । गौतमलाई गुण लगाउनुभएका मानन्धरलाई गौतमको प्रस्तावमा अहिले शहरी विकास राज्यमन्त्री बनाइएको छ ।

गत कात्तिकमै अध्यक्षद्वय ओली र प्रचण्डले राष्ट्रियभासको निर्वाचनमा सांसद बनाउन प्रस्ताव गर्दा उहाँले अस्वीकार गर्नुभएको थियो । तर गोरखाबाट निर्वाचनमा पराजित भएका नारायणकाजी श्रेष्ठले पनि सांसद बन्न गरेको प्रस्ताव स्वीकार गर्दै सांसद बन्नुभएको थियो । गौतम सांसद बन्ने भएसँगै पार्टीको सचिवालयमा रहेका सबै नेताहरु सांसद भएका छन् । मधुसूदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

3350
Shares

ट्रेन्डिङ