सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बादललाई एकै दिन दुई चो’ट : चोलेन्द्रले मन्त्री खोसे, खिमलालले ‘संसदको राजनीति’

बादललाई एकै दिन दुई चो’ट : चोलेन्द्रले मन्त्री खोसे, खिमलालले ‘संसदको राजनीति’

7520
Shares
बादललाई एकै दिन दुई चो’ट : चोलेन्द्रले मन्त्री खोसे, खिमलालले ‘संसदको राजनीति’

काठमाडाैं, ६ जेष्ठ : फागुन २३ मा सर्वोच्चबाट खारेजी हुनुअघिको नेकपा रहँदै तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभामा आइपुगेका रामबहादुर थापा बादललाई अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीबाट पटक पटक हटाउन खोजेका थिए।

नेकपामा चलिरहेको विवादका क्रममा आफूलाई साथ नदिइ तत्कालीन नेकपाको सचिवालयमा ‘तटस्थ’ बसिदिएपछि प्रचण्डले उतिबेलै बादलको पद खोस्न खोजेका थिए। बादलको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले नेकपा रहेको समयमा गृहमन्त्रीबाट हटाउन सिफारिससहित तीन पटकसम्म प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेका थिए।

तर नेकपाको तनावपूर्ण राजनीतिक जोडघटाउ बुझेका ओलीले बादललाई आफ्नो पक्षमा तान्ने रणनीतिसहित प्रचण्डको उक्त प्रस्तावलाई अस्वीकार गरिदिए। प्रचण्ड र बादलबीचको राजनीतिक तनाव राम्ररी बुझेका ओलीले उनको निरन्तर बचाउ गरिरहे। आजका मितिसम्म पनि बादल मन्त्री पदमा कायम छन्।

प्रचण्डको पक्षमा नउभिने निचोड निकालिसकेका बादलको त्यही मुड बुझेका ओलीले अन्तत: उनको साथ पनि पाए। नेकपाको विवादमा सधैँ प्रचण्डविरोधी कित्तामा उभिएका बादल पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि प्रचण्डसँगको तीन दशक लामो राजनीतिक लिगेसी छाडेर ओलीलाई साथ दिन आइपुगे।

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपाल पक्षका घनश्याम भुसाल र योगेश भट्टराई तथा प्रचण्ड समूहका वर्षमान पुन अनन्तसहित सात मन्त्रीले राजीनामा दिए। तर बादलसहितका मन्त्रीहरुले पदबाट राजीनामा दिएनन्। राजीनामा नदिएर उनीहरुले ओलीको कदमलाई साथ दिइरहे।

पुस ५ देखि फागुन ११ सम्म चलेको राजनीतिक तनावका क्रममा बादल सधैँ ओली पक्षका राजनीतिक कार्यक्रमको प्रमुख वक्ता भएर उभिए। फागुन २३ सम्म उनीहरु नेकपाको ओली समूहमै थिए। तर जब फागुन २३ मा सर्वोच्चले एमाले र माओवादी ब्यूँताइदियो तब वास्तवमै बादलसहितका सात नेताले प्रचण्डलाई झट्का दिए।

फागुन २३ पछि प्रचण्डले बादलसहितका नेताहरुलाई माओवादी केन्द्रमै फर्काउन हरसम्भव प्रयास नगरेका होइनन्। तर उनीहरु फागुन २३ मा ब्यूँतिएको साविकको माओवादीलाई छाडेर आधिकारिक रुपमा नेकपा एमालेको सूर्य चिन्हबाहक भए। बादल त बागमती प्रदेशको एमाले इन्चार्ज नै भइसकेका छन्।

नेकपा खारेजीमा परेपछि पनि एमालेमै बसेका ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई फर्काउन नसकेपछि माओवादीले प्रतिनिधिसभा सदस्य पद खोसिदियो। त्यसपछि राष्ट्रियसभा सदस्य बादलको पद पनि खोसियो।

हुन त बादलसहित पाँच नेताहरु सांसद पद गुमाउन तयार भएरै एमालेमा बसेका थिए। उनीहरुको सांसद या मन्त्री पद जुनसुकै बेला जाने कुरामा उनीहरुलाई हेक्का नहुने कुरै भएन। उनीहरुसँगै सांसद नै नबनेका मणिचन्द्र थापा र दावा लामाको पनि मन्त्री पद आजबाट खोसिएको छ। उनीहरु सबै पछिल्लो पटक वैशाख ३१ मा पुन:नियुक्त भएका थिए।

प्रश्न
राष्ट्रियसभा सदस्यबाट पार्टीले पदमुक्त गरेपछि रामबहादुर थापा ‘बादल’ वैशाख ५ गते ६ महिनाका लागि मन्त्री नियुक्त भएका थिए। त्यसपछि वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि पुन: ३० गते नियुक्ति लिएर बादललाई मन्त्री बनाएका थिए।

प्रधानमन्त्रीले विश्वासको मत गुमाएसँगै पदमुक्त भएर फेरि मन्त्री पदको शपथ लिएका बादलमाथि भने अर्को प्रश्न पनि उठेको थियो। एमालेमा प्रवेश गरेकाले माओवादीले राष्ट्रियसभा सदस्य पदबाट हटाएपछि बागमतीको राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमाले उम्मेदवार थिए।

निर्वाचनका लागि बिहीबारदेखि आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएको भोलिपल्टै बादलको नियुक्ति र शपथ भएको भन्दै प्रश्न उठेको थियो । कानुन अनुसार आचारसंहिता लागु भएपछि कुनै पनि नियुक्ति, सरुवा, बढुवा, शपथ गर्न पाइँदैन । तर राष्ट्रपतिले शुक्रबार बादललाई मन्त्री पदको शपथ खुवाएकी थिइन्।

एकै दिन दुई झट्का
एमालेमा आएका बादलको सांसद पद खोसिएपछि ओलीले राष्ट्रियसभामा फेरि उठाउने निर्णय लिएका थिए। तर बादललाई उठाउने ओलीको निर्णयमा एमालेकै नेता माधवकुमार नेपाल तगारो बनिदिए।

एमालेका विवाद रहेका बेला नेता नेपालले माओवादी र कांग्रेसको साथ लिएर आफूनिकट डा. खिमलाल देवकोटालाई राष्ट्रियसभामा उठाएका थिए। यता एमालेले पनि बादललाई सूर्य चिन्हबाट उठाएको थियो।

एमालेबाटै दुई उम्मेदवार भएको अवस्थामा पार्टी भित्रको विवाद मिलाउने पहलकदमी ओलीले थालेका थिए। त्यही अनुसार पछिल्लो पटक वरिष्ठ नेता नेपालसँग उनी तीन पटकसम्म संवादमा बसे। दुई नेताको कुरा मिलेपछि एमाले एक भएर बादललाई जिताउने अनुमान थियो।

तर एमाले मिलाउने कार्यदलले काम गर्न पनि थालिसकेको अवस्थामा नेता नेपालले बादललाई ओलीको उम्मेदवार भन्दै अस्वीकार गरिदिए। आफूलाई भेट्न आएका बादललाई समेत उनले सहयोग गर्न नसक्ने भन्दै फर्काइदिए।

ओलीले बुधबार मात्रै बादलको पक्षमा भोट हाल्न ह्वीप पनि लगाए। त्यसअघि महासचिव ईश्वर पोखरेलको नाममा पनि एउटा विज्ञप्ति निकालेर एमालेले बादलको पक्षमा ह्विप लगाएको थियो। तर यी दुवै निर्णयलाई नेपालले लत्याउँदै देवकोटालाई जिताउन आफ्नो पक्षको भोट निर्णायक बनाएर बादललाई हराइदिए।

चोलेन्द्रको झट्का
आजै सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका सात जना गैरसांसद मन्त्रीलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिएको छ। जसले माओवादीबाट आएका बादलसित सातैजना मन्त्रीको पद तत्काललाई गएको छ।

अदालतको आदेशबाट मन्त्री पद गुमाएका बादलले खिमलालबाट अर्को झट्का व्यहोर्नुपर्ने। त्यो पनि आफ्नै पार्टीका नेताको अन्तरघातका कारण। यो पराजयसँगै बादलको संसदीय राजनीति र सरकारमा टिकिरहने उपाय पनि समाप्त भएको छ।

अब उनीसँग एमालेमै बसेर आफूलाई मजबुत रुपमा स्थापित हुने या माओवादीमै फर्किने विकल्प भएका छन्। बादलको हारले माओवादीबाट आएकाहरुको भविष्य एमालेमा सुरक्षित नहुने सन्देश पनि गएको छ।

माओवादीबाट एमालेमा आएकाहरुमा रामबहादुर थापा ‘बादल’ सबैभन्दा ठूला नेता थिए। एमालेमा आएका सबैभन्दा ठूलो नेतालाई एकै दिन दुईवटा झट्का लागेपछि अन्य नेताहरुको भविष्यबारे पनि चिन्ता सुरु भएको छ।

7520
Shares

ट्रेन्डिङ