सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसमा शिव हुमागाईँ र तीर्थ लामा समूहमा गम्भिर फाटो, लागे आ–आफ्नो बाटो

काभ्रे कांग्रेसमा शिव हुमागाईँ र तीर्थ लामा समूहमा गम्भिर फाटो, लागे आ–आफ्नो बाटो

6220
Shares
काभ्रे कांग्रेसमा शिव हुमागाईँ  र तीर्थ लामा समूहमा गम्भिर फाटो, लागे आ–आफ्नो बाटो

काभ्रे : १४ औँ जिल्ला अधिवेशन नजिकिदैँ गर्दा काभ्रेमा पूर्व जिल्ला सभापति शिव हुमागाईँ र निर्वाचन क्षेत्र नम्बर १ का सभापति तीर्थ लामाको समूह अन्ततः फुटेको छ । वडा र पालिका अधिवेशनमा एउटै समूह बनाएर होमिएका हुमागाईँ र लामा आ आफ्नो बाटो लागेका हुन् ।

१४ औँ जिल्ला अधिवेशनमा तीर्थ लामाले जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्नुभएको छ । त्यस्तै शिव हुमागाईले पनि जिल्ला सभापतिको उम्मेदवार दाबी गरेर एकले अर्को समूह छोडेको जनाउ दिएका हुन् ।

हुमागाईँले काभ्रेमा कृष्ण प्रसाद सिटौला समूहको नेतृत्व गर्नु हुन्छ भने लामाले पार्टी सभापति शेर बहादुर देउवा समूहको नेतृत्व गर्दै आइरहनुभएको छ । यसअघि जिल्ला सभापति हुन १५ बर्ष क्रियाशिल सदस्य हुनुपर्ने प्रावधान भएपछि लामा पछि हट्नु भएको थियो ।

तर पछि उक्त प्रावधान सच्याएर १० वर्ष क्रियाशिल सदस्य भएकाले जिल्ला सभापतिको उम्मेदवार बन्न पाउने मापदण्ड भएपछि तीर्थ लामाले पार्टी सभापतिका लागि उम्मेदवार घोषणा गर्नुभएको हो ।

यसअघि काभ्रे कांग्रेस हुमागाईँ र जिल्ला सभापति मधु आचार्यको समूहमा मात्र्र विभाजित थियो । हुमागाईँ समूहले यसअघि देखि तीर्थ लामा नै आगामी जिल्ला सभापति भन्दै प्रचार गर्दै आएको थियो । तर हुमागाईसँग पदको विषयमा सहमति नहुदाँ लामा र हुमागाईँ समूहबीच फाटो देखिएको हो ।

हुमागाईले सह महामन्त्री पद मागेको र त्यो पदका लागि हुमागाईँलाई साथ दिन नसक्ने लामा समूहले बताएपछि दुई समूह आ आफ्नो रणनीति बनाउन लागेका छन् ।तीर्थ लामाले यो साता नै जिल्ला सभापतिको उम्मेदवार घोषणा गर्ने र बनेपामा सम्पर्क कार्यालय सञ्चालन ल्याउने तयारी समेत गरेको स्रोतको दाबी छ ।

लामा समूहले हुमागाईलाई क्षेत्रीय सभापतिलगायत पदाधिकारीहरूको उम्मेदवार एकलौटी ढङ्गले सल्लाह नै नगरी घोषणा गरेको आरोप लगाएको छ । हुमागाईँ र लामाको समूहमा फाटो आएपछि आचार्य समूह भने खुशीले गदगद भएको छ । आचार्य समूहलाई गणेश लामा समूहको भरपूर सहयोग छ । त्यस्तै प्रकाश मान सिंहको गुट चलाइरहेका कञ्चनचन्द्र बादेले पनि आचार्यलाई साथ दिएको छ ।

तीर्थ लामा समूहले साथ छोडेपछि काभ्रे कांग्रेसमा शिव हुमागाईँ समूह कमजोर बनेको छ । हुमागाईँ र लामा समूहको फुटसँगै कांग्रेस काभ्रेको जिल्ला समीकरणमा पुरै फेरबदल हुने देखिएको छ ।

अब तीर्थ लामा, तीर्थ पसखल, गणेश लामा र महेश खरेलबीच समीकरण बन्ने सम्भावना बढ्दै गएको छ । केन्द्रमा देउवासँगको पहुँच यीनै नेताहरूको रहेको बताइएको छ ।

6220
Shares

ट्रेन्डिङ