सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज महाशिवरात्रि: काभ्रेका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

आज महाशिवरात्रि: काभ्रेका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

4660
Shares
आज महाशिवरात्रि:  काभ्रेका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

 

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।

 

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

 

काभ्रेका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । बनेपाको धनेश्वरमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

 

 

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

 

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

 

कैलाशकूट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले बताए ।

 

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्र ह रीले प क्रा उ कारबाही गर्ने उनले बताए ।

 

बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

 

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

 

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए ।

 

नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

 

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

 

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

 

 

4660
Shares

ट्रेन्डिङ