सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

4390
Shares
पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

काभ्रे : नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ । सोही क्रममा नमोबुद्ध नगरपालिकाका दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा नं. ७ र वडा नंं ९ को वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।

नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर्षभित्र सबै वडाको भवन तथा स्वास्थ्य संस्थाका भवनहरुको निर्माण सक्ने लक्ष्य लिएको थियो । यसअघि वडा नं. २, ८, १० र ११ को वडा कार्यालय भवन उद्घाटन भईसकेका छन् भने वडा नं. ३ र ६ को नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको छ । यस्तै वडा नं. १ को भवन निर्माणका लागि टेण्डर भइसकेको छ भने वडा नं. ४ र ५ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

शुक्रबार उद्घाटन गरिएको वडा नं. ७ को भवन निर्माणको ठेक्का सिद्धिविनायक निर्माण सेवा धुलिखेलले भ्याटबाहेक ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँ र वडा नं. ९ को भवन निर्माणको ठेक्का जानुका निर्माण सेवा पनौतीले भ्याटबाहेक ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा प्राप्त गरेका थिए ।

वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै नगरबासीको सहजताका लागि वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिपरेको र सोही अनुसार सबै वडाको भवन निर्माणको काम थालिएको बताए ।

कार्यकालको अन्तिम समयमा आइपुग्दा सबै वडाको भवन निर्माण सकेर सेवा प्रवाहलाई थप सहज बनाउनु आफूहरुका लागि गौरवको कुरा भएको तिमल्सिनाको भनाई थियो । सबै वडाबाट नगरको केन्द्रसम्म पुग्ने सडकको निर्माण, सबै वडामा स्वास्थ्य संस्थाको सुविधासम्पन्न भवन निर्माण, एक घर एक धारा अभियानले मुर्तरुप पाइरहेको तिमल्सिनाले बताए ।

नगरको विकासका लागि आफूहरुले चुनावअघि गरेको प्रतिवद्धताअनुसार नै काम गरिरहेको र अधिकांश प्रतिवद्धता पुरा भएको तिमल्सिनाले जानकारी दिए । समृद्ध नगरको सपना साकार बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको पनि उनको भनाई थियो ।

आफूहरुले पाँच बर्षको अवधीमा गरेको कार्यको मुल्यांकन जनताले नै गर्ने पनि उनले बताए । ग्रामीण पूर्वाधार सडक कार्यक्रमबाट ४० करोड रुपैयाँमा सडक निर्माणको काम यसैबर्ष सुरु भइसकेको उनले बताए ।

यस्तै उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा पछिल्लो समय नगरपालिकामा समय विकास निर्माणको कामले गति लिएको बताउँदै निर्माण गरिएका संरचनाको सही सदुपयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरिन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकासको काम कहिले पनि नसकिने भन्दै विकासलाई सापेक्षित ढंगले हेर्नुपर्ने र यो निरन्तर चलिरहने बताए । अहिले विकासको पहिलो खुट्किलो तयार भएको भन्दै उनले आगामी दिनमा यसमै आधारित भएर विकास निर्माणलाई तीब्रता दिइने बताए । वडा कार्यालय भवनहरु नगरबासीको सम्पति भएको भन्दै उनले यसलाई जोगाउन र सदुपयोग गर्न आग्रह गरे ।
यस्तै वडा नंं ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नंं ९ का वडाअध्यक्ष मेलवहादुर लामाले सबैको सहयोगबाट आआफ्नो वडा कार्यालयमा सुविधासम्पन्न भवन निर्माण भएको भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा लगायतले पनि मन्तव्य राखेका थिए । वडा नंं ७ को वडा कार्यालय उद्घाटनकै अवसरमा सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमा वडा कार्यालय निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । वडा नं. ९ को कार्यालय उद्घाटन कार्यक्रममा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।

4390
Shares

ट्रेन्डिङ