सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिप्टोकरेन्सीमा ६६ करोड बढी कारोबार गरेको आरोपमा काभ्रेका थापा सहित तीन जना पक्राउ

क्रिप्टोकरेन्सीमा ६६ करोड बढी कारोबार गरेको आरोपमा काभ्रेका थापा सहित तीन जना पक्राउ

5610
Shares
क्रिप्टोकरेन्सीमा ६६ करोड बढी कारोबार गरेको आरोपमा काभ्रेका थापा सहित तीन जना पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर-१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे पनौती घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन्। हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ।

अनुप मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको अनुसन्धानबाट खुलेको कोइरालाले बताए। उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ।

दिपेश थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ। उनले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन्। उनको अकाउन्टमा हाल १ हजार ३९९.८० डलर बराबरको बिटक्वाइन देखिएको कोइरालाले बताए।

यस्तै, राहुल चचानले करिब एक वर्षदेखि २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा गरी छ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेका छन्। उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ।

‘उनीहरूले दैनिक पाँच हजारदेखि ५० हजारसम्म युएसडिटीको कारोबार गर्ने गरेको देखिन्छ,’ कोइरालाले भने,‘उनीहरूले आफ्नो पहिचान गोप्य राखेर अन्य सयौं जना व्यक्तिहरूलाई प्रलोभनमा पारेर बैंक खाता प्रयोग गर्ने र बाइनान्स अकाउन्ट खोल्न लगाएर निश्चित रकमको कमिसनको समेत प्रलोभन देखाउने रहेछन्।’

5610
Shares

ट्रेन्डिङ