सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसका सांसद सुनील शर्मा किन पक्राउ परे ?

नेपाली कांग्रेसका सांसद सुनील शर्मा किन पक्राउ परे ?

2820
Shares
नेपाली कांग्रेसका सांसद सुनील शर्मा किन पक्राउ परे ?

नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्।

गत मङ्सिरमा भएको निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ३ बाट जितेर प्रतिनिधिसभाको सांसद बनेका हुन्। उनी काठमाण्डू मेडिकल कलेज र नोबेल मेडिकल कलेजसहित विभिन्न शैक्षिक संस्थाका सञ्चालक पनि हुन्।

“सीआईबीले आज काठमाण्डूबाट उनलाई पक्राउ गरेको हो। शैक्षिक प्रमाणपत्र गडबड गरेको मुद्दामा पक्राउ गरिएको हो,” नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले भने। त्यसबारे अनुसन्धान भइरहेको उनले बताए। शर्माले आफू चीनबाट एमबीबीएस उत्तीर्ण गरेको बताउने गरेका छन्।

हालै प्रतिनिधिसभामा बोल्दै सुन तस्करी प्रकरणमा सरकारको चर्को आलोचना गर्दै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि उनी चर्चामा आएका थिए।
के प्रहरीले बहालवाला सांसदलाई पक्राउ गर्न सक्छ?

नेपालको संविधानको धारा १०३ ले बहालवाला सांसदलाई संसद्को अधिवेशन चलिरहेको समयमा फौजदारी अपराधको अनुसन्धानका लागि पक्राउ गर्न सक्ने अधिकार दिएको छ। त्यसरी पक्राउ गर्दा प्रहरीले त्यसको सूचना सम्बन्धित सभाको अध्यक्षलाई दिनुपर्ने व्यवस्था छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले उनलाई पक्राउ गरिएकोबारे बिहीवार साँझ ५ बजेसम्म कुनै सूचना नआएको जनाएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि शर्मालाई पक्राउ गरिएको समाचार सञ्चारमाध्यममा आफूहरूले पनि देखेको भए पनि त्यसबारे सभामुखलाई कुनै सूचना नदिइएको बताए।

संविधानको धारा १०३ (६) भन्छः
सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन। तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने छ।

सुनील शर्माले संसद्‌मा के भनेका थिए?
दुई साताअघि सुनील शर्मा प्रतिनिधिसभाको बैठकमा बोलेका थिए।

“अहिलेको अर्थमन्त्री र अहिलेको गृहमन्त्रीले कि भन्न सक्नुपर्थ्यो हामीले भरिया मात्रै होइन, मूल दोषी सुनको मालिकलाई पक्राउ गर्‍यौँ भन्न सक्नुपर्थ्योँ। कि समय लिएर सात दिनभित्र यसको नाइके पक्राउ गर्न सक्छौँ भन्न सक्नुपर्‍यो। नभए यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनको निम्ति सुनको मालिक पक्राउ नहुँदासम्म राजीनामा गरेर यो प्रजातान्त्रिक अभ्यासलाई कदर गर्नुपर्छ,” उनले भनेका थिए। शर्मा र अर्थमन्त्री प्रकाशशरण महत एकै दलबाट सांसद छन्।शर्माले मोरङमा यसअघिको प्रतिनिधिसभामा पनि प्रतिस्पर्धा गरेका थिए।

निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र विपन्न स्थानीयलाई आफ्नो अस्पतालमा नि:शुल्क तथा सहुलियत उपचार सेवा दिएका कारण लोकप्रिय बनेका शर्मा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई पराजित गर्दै फराकिलो मतान्तरले निर्वाचित भएका थिए।

2820
Shares

ट्रेन्डिङ