सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रिन्सिपलको हत्या आरोपमा १ जना पक्राउ

प्रिन्सिपलको हत्या आरोपमा १ जना पक्राउ

940
Shares
प्रिन्सिपलको हत्या आरोपमा १ जना पक्राउ

बारा । कलैयाको मुख्य बजारमा सोमबार दिउँसो एक निजी विद्यालयका प्रिन्सिपल रुपेष स्वर्णकार (सर्राफ) को हत्याको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी सुरेशप्रसाद काफ्लेका अनुसार पक्राउ पर्नेमा २५ वर्षीया महिला रहेकी छिन् । कलैया उपमहानगरपालिका–६ का ४० वर्षीय सर्राफको हत्याको योजना बनाएको आशंकामा ती महिलालाई पक्राउ गरिएको एसपी काफ्लेले बताए । मृतक सर्राफका १ नाबालिक छोरा, १ छोरी र श्रीमती छन् ।

‘घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको छ । सीसीटीभीको सहाराले अनुसन्धानमा सहयोग मिल्यो । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ,’ उनले भने, ‘भोलिसम्म घटनाको पूरै कारण खुल्छ ।’

सर्राफ कलैयामा रहेको बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका सञ्चालक हुन् । कलैयाको मुख्य बजारको कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

नेपाल राष्ट्रिय मावि र हजारी ‘मार्केट’ को बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमै सर्राफमाथि गोली हानेको प्रत्यक्षदर्शीको भनाइ छ ।

छाती र टाउकोमा चार वटा गोली लागेका उनलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकी वीरगन्जको बयोधा अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना गरिएको केहीबेरमै बयोधा अस्पतालमा उनको निधन भएको थियो ।

सोमबार साँझ घटनाको विरोधमा कलैयाको भरत चोकमा प्रदर्शन गरिएको छ । सुरक्षा अवस्था कमजोर भएको र दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, कलैयासहित जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउनुपर्ने भन्दै प्रदर्शन भएको हो । कलैयामा बिग्रिएका सीसीटीभी तत्काल बनाउन पनि उनीहरूले माग गरेका छन् ।

940
Shares

ट्रेन्डिङ