सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सशस्त्र प्रहरीमाथि रौतहटमा स्थानीयले गरे ढुंगामुडा प्रहार

सशस्त्र प्रहरीमाथि रौतहटमा स्थानीयले गरे ढुंगामुडा प्रहार

610
Shares
सशस्त्र प्रहरीमाथि रौतहटमा स्थानीयले गरे ढुंगामुडा प्रहार

रौतहट | अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा शनिबार स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुडा प्रहार गरेका छन् । ढुंगामुडा प्रहारबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुंगाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालय इन्टेलिजेन्स ब्यूरो टोलीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाको कमाण्डमा खटिएको ५४ जनाको टोलीले यमुनामाई गाउपालिका–३, मल्हनियास्थित १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखेको अमेरिमामा बनेको लेखिएको दुई थान पेस्तोल, भारतमा बनेको लेखिएको एक पेस्तोल, पेस्तोलका म्यागजिन ६ थान, वाल राउन्ड १३ थान र एउटा एयरगन बदामद गरेको हो ।

अवैध हतियारबारे सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले सूचना पाएपछि रौतहट आएको थियो । सशस्त्रले छापामारी गर्नुअघि नै अहमद फरार भइसकेका थिए । हतियार बरामदपछि मुचुल्का गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको छ । हतियार बरामदपछि सशस्त्र प्रहरीको टोलीमाथि महिला तथा बालबालीकाहरुले ढुंगा प्रहार गरेका थिए ।

त्यस क्रममा सशस्त्र प्रहरीका ४ जना समान्य घाइते भएको ११ नम्बर गणले बताएको छ । ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको बीएबी ३२८० नम्बरको गाडीमा क्षति पुगेको छ । सशस्त्र प्रहरीको सुरक्षा बेस देवाहीको ना१झ ७९७ नम्बरको टाटा टेलको गाडीको पछाडीको सिसा फुटेको छ । प्रदेश ०३–००१ ब ३९९ नम्बरको अपाचे मोटरसाईकलमा समेत क्षति पुगेको छ । स्थिति तनाबपूर्ण बनेपछि इलाका प्रहरी गरुडाबाट थप बल मद्दतका लागि पुगेको थियो । सशस्त्र प्रहरीले फरार अहमदको खोजी सुरु गरेको छ । उनको पृष्ठभूमि बारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

610
Shares

ट्रेन्डिङ