सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

895
Shares
हत्या र लुटपाट गरेको आरोपमा ६ जना पक्राउ

कञ्चनपुर | कञ्चनपुरमा महिलाको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका – ४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती छन्। उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको प्रहरीले जनाएको छ।

लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका संचालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका संचालक दिपेन्द्र सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको जिल्‍ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

नारुदेवी जोशी कात्तिक १९ गते दिउँसो घास काट्न भनि आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकी थिइन्। त्यसपछि उनी घरमा फर्केर नआएपछि खोजी गर्ने क्रममा कात्तिक २० गते उक्त वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा महेश डगौरालाई झलारी बजारबाट मंसिर १ गते प्रहरीले पक्राउ गरेको थियो।

महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागी सो हँसिया केहि टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटी कसी हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ। साथै लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

895
Shares

ट्रेन्डिङ