सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

245
Shares
दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ | अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज (शुक्रवार) राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गरेका थिए।

आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन्। किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग रकम मागेको थियो।

“किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन। विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतवारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ”, पुनले निर्देशन दिँदै भने।

निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पनि अर्थ मन्त्रालयले नरोक्ने उनले स्पष्ट पारे। अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आवको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिन लागिएको हो।

चालु आर्थिक वर्षमा ५१ अर्ब रुपैयाँ बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ। मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरुलाई आग्रह गरेका छन्।

दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताए।

245
Shares

ट्रेन्डिङ