सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बनेपाको कम्प्लेक्स भवन यातायात ब्यवस्था कार्यालय बन्दै

बनेपाको कम्प्लेक्स भवन यातायात ब्यवस्था कार्यालय बन्दै

520
Shares
बनेपाको कम्प्लेक्स भवन यातायात ब्यवस्था कार्यालय बन्दै

काभ्रे :- जिल्लाको बनेपा नगरपालिका र प्रदेश मन्त्रालय विच यातायात कार्यालय राख्न भवन दिने विषयमा सम्झौता बहेको छ। बनेपा नगरपालिकाको वडा नम्बर ६ स्थित बुडोल कम्प्लेक्स भवनमा यातायात ब्यवस्था काभ्रेपलाञ्चोकको कार्यालय राख्ने गरी आज सम्झौता पत्र आदानप्रदान भएको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा बनेपा नगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्र आदानप्रदान गरिएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले भवन उपभोग सम्बन्धि सम्झौता पत्र आदानप्रदान गर्नुभएको थियो । नगर कार्यपालिकाबाट उक्त भवनको दुई तल्ला यातायात ब्यवस्था कार्यालय काभ्रेपलाञ्चोकलाई उपभोग गर्न दिने निर्णय भएको छ ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मन्त्री लक्षमण लम्सालले “अब छिट्टै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्ने बताउनुभयो । उहाँले बनेपामा रहने कार्यालयले राजधानीको समेत चाप घट्ने र नगरपालिकाले आफु मातहात रहेको भवन १० वर्षका लागि निःशुल्क उपब्ध गराएर धेरै सहयोग गरेको छ ।

यो कार्यालयले राजधानीभित्र रहेका अन्य यातायात कार्यालयको चाप घटाउने छ । राजधानी बाहेकका जिल्लाका नागरिकलाई सेवा दिन सहज हुनेछ । भवन उभोग गर्न दिएकोमा नगरपालिकालाई धेरै धन्यवाद ब्यक्त गर्दछु । “

नगरप्रमुख शान्ति रत्न शाक्यले यातायात ब्यवसायीहरुको धेरै बसोबास रहेको बनेपामा यातायात कार्यालय स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताए । उपप्रमुख विमला सापकोटा दाहालले सरकार–सरकारबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने बताएकी थीइन ।

मन्त्रालय र नगरपालिकाभित्र ९ बुँदे पत्र :- (सम्झौता पत्रमा उल्लेख भएका बुदाहरु)

१.काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ६ अरनिको राजमार्गसंगैको नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्स नामको भवनको उत्तर र पूर्वी मोहडा तर्फको माथिको दुई तल्ला नगरपालिकाले मन्त्रालयलाई यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोक स्थापना गरी सञ्चालन गर्न आगामी १० वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराउने ।

२. मन्त्रालयले उपयोग गर्ने भवनको भागमा कार्यालय सञ्चालनको लागि आवश्यक पार्टेसन गर्ने तथा कार्यालयको सेटअप सम्बन्धी काम मन्त्रालयले गर्ने ।

३. भवनको संरचनाको मर्मत, रङ्गरोगन, सरसफाइ लगायतका कार्यको लागत अनुमान नगरपालिकाले तयार गरी मन्त्रालयमा पठाउन र मन्त्रालयले क्रमिक रुपमा आफ्नो बजेटबाट वा प्रदेश सरकारको शहरी विकास कार्यालय मार्फत मर्मत, रङ्गरोगन तथा सरसफाइका कार्यहरु गर्ने ।

४. भवनमा जडान भएको बिजुलीबाट मन्त्रालयले प्रयोग गर्ने भागमा विद्युत आपूर्तिका लागि सबमिटर राखी मन्त्रालयले उपयोग गरेको विजुलीको दररेट अनुसारको रकम नगरपालिकालाई उपलब्ध गराउने ।

५. यातायात व्यवस्था कार्यालयमा पर्याप्त पार्किङको आवश्यकता पर्ने भएकोले भवनसँगै जोडिएको खाली जग्गा नगरपालिकाले उचित दररेटमा भाडामा लिने र त्यसरी लिएको जग्गाको सम्झौता बमोजिमको वहाल रकम मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाउने ।

६. मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानीको आपूर्तिको लागि नगरपालिकाले छुट्टै खानेपानी धाराको लाइन व्यवस्था गरिदिने तथा मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानी आपूर्ति व्यवस्थापनका लागि आवश्यक संरचना तयार गर्ने कार्य मन्त्रालयले गर्नेछ । यसरी जडित धाराको महसुल मन्त्रालयले भुक्तानी गर्नेछ ।

७. भवनको उपयोगका सम्बन्धमा यसपछि कुनै द्विविधा उत्पन्न भएमा तथा थप समझदारी कायम गर्नुपर्ने अवस्था देखिएमा दुवै पक्ष बीचको आपसी समझदारी बमोजिम गर्ने ।

८. यस सम्झौतामा दुवै पक्षवाट सहीछाप भएका मितिबाट प्रारम्भ भएको मानिनेछ ।

९. दुबै पक्षको सहमतिमा सम्झौताकाहरु संशोधन हुन् सक्नेछन् ।

520
Shares

ट्रेन्डिङ