सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • देशकै नमूना मैत्री सेवाश्रम

देशकै नमूना मैत्री सेवाश्रम

3325
Shares
देशकै नमूना मैत्री सेवाश्रम

राजधानी नजिकैको प्राकृतिक सुन्दरतायुक्त गाउँ लप्सेफेदीमा शान्त र सुन्दर मैत्री सेवाश्रम (ज्येष्ठ नागरिक ग्राम) खुलेको छ । जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले शङ्खरापुर नगरपालिका–४ स्थित करिब सय रोपनी क्षेत्रफलमा ज्येष्ठ नागरिक, सेवानिवृत्त, स्वतन्त्र, सुखमय एवम् शान्त जीवनयापनका लागि मैत्री सेवाश्रम निर्माण गरेको हो ।
सरकारको अनुदान सहयोगमा साँढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवन तथा दुईतले दिवा तथा आवासीय सेवा केन्द्र र दुईतले बाल्मिकी कुटी बनेको छ । प्रतिष्ठानबाटै नौवटा कुटी तथा नेपाली सेनाको सहयोगमा विभिन्न आकारका १० वटा कुटी, प्रतिष्ठानको साँढे तीनतले भवनसहित ११ वटा कुटी गरी जम्मा ३० वटा भवन छन् ।
उक्त मैत्री सेवाश्रमको आज यहाँ एक समारोहबीच उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा परोपकारीको नमुना र प्रेरणादायी काम भन्दै यसलाई भविष्यमा अनुसन्धान केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले परोपकारी संस्थालाई व्यवस्थित र मितव्ययी ढङ्गले सञ्चालन गर्न लोककल्याणकारी राज्यको भावनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको तर्फबाट यस्ता संस्थालाई मार्गदर्शन, नियमन–अनुगमन र प्रोत्साहन गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई सेवा पु¥याउने उद्देश्यले स्थापित मैत्री सेवाश्रमले उनीहरुको बाँकी जीवन आनन्दमय, ऊर्जाशील र सिर्जनशील बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “प्रकृतिमैत्री, बासस्थान र प्राकृतिक आहारविहारको माध्यमबाट ज्येष्ठ नागरिकका मौलिक सिर्जना र अनुभवलाई संस्थागत गर्न सकिन्छ, यो क्षेत्र प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूण छ, अनेक सुसज्जित सम्पदाको सेरोफेरोमा यो सेवाश्रम सञ्चालनमा आउँदा ज्येष्ठ नागरिकलाई आनन्दित तुल्याउन सहज हुने विश्वास लिएको छु ।”
सहरीकरणको चाप बढेको सन्दर्भमा संवेदनशील प्राकृतिक संरचनालाई जोगाइराख्न यस प्रकारको आश्रम निर्माण गर्दा पर्यावरणमैत्री प्रविधिको अवलम्बनका साथै स्थानीय सीप र कलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिकको व्यवस्थित र सम्मानित जीवन निर्वाहका लागि सरकारले ज्येष्ठ आवश्यक कानुन बनाउने तयारी गरेको बताउनुभयो ।
सांसद दीपक कुइँकेल ज्येष्ठ नागरिकको आनन्दित जीवनयापनका लागि मैत्री सेवाश्रम उपयोगी हुने बताउनुभयो ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले मैत्री सेवाश्रम नेपालको मात्र नभई दक्षिण एसियाकै नमुना बन्ने भन्दै यसलाई व्यवस्थित र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालका अनुसार मैत्री सेवाश्रमलाई देशकै नमुना मात्र नभई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र बनाइनेछ ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र चिकित्सक डा मृगेन्द्रराज पाण्डेलगायतले मैत्रीसेवाश्रमको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरुप ज्येष्ठ वा अवकासप्राप्त नागरिकको स्वतन्त्र र शान्तमय जीवनयापनका लागि प्राकृतिमैत्री बासस्थल तथा प्रदूषणमुक्त आहारविहार, बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षता र सम्पत्तिको सिर्जना गर्ने उद्देश्यले मैत्रीआश्रम निर्माण गरिएको हो ।
विसं २०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानले जनाएको छ । हाल प्रतिष्ठानको नाममा आइसकेको एक सय रोपनीमा बनेको ‘डेमो परियोजना’ हो । यो सम्पूर्ण काम सम्पन्न गर्दा करिब पाँच सय रोपनी क्षेत्रफलमा सबै संरचना निर्माण गरिने र संसारले अवलोकन गर्ने नमुना बनाउने लक्ष्य रहेको छ ।
सबै भवन ज्येष्ठ नागरिक र अपाङ्गमैत्री छन् । जम्मा सङ्ख्याको २५ प्रतिशत असक्त असहाय ज्येष्ठ नागरिकलाई निःशुल्क र अवस्था र आर्थिक हैसियतका आधारमा निश्चित रकममा आश्रममा बस्न सकिनेछ । मैत्री सेवाश्रममा सुविधा सम्पन्न अस्पताल, पुस्तकालय, योगा ध्यान केन्द्र र पुस्तकालय निर्माण गरिनेछ ।
सो अवसरमा लप्सेफेदी क्षेत्रका ७५ वर्ष पुगेका एक सय ज्येष्ठ नागरिकलाई नगद रु एक हजारसहित दोसल्ला र प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो । यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरिएको जनाएको छ । रासस

3325
Shares

ट्रेन्डिङ