काभ्रे : अविरल बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा पुल बजार डुबानमा परेको छ ।
पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार र बनेपा पनौती सडक डुबानमा परेको हो । सडक डुवानमा परेपछि आवतजावतमा समस्या भएको छ ।
यस्तै वर्षाका कारण पाँचखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग केहिबेर अवरुद्ध भए पश्चात एकतर्फि सुचारु भएको छ । पहिरोले वीपी राजमार्गका करिब १० ठाउँमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।
त्यस्तै नमोबुद्ध नगरपालिका वडा नं. ५ मा रहेको श्री कानपुर उच्च मा.वि. को निर्माणाधीन भवन पनि पहिरोको उच्च जोखिममा रहेको छ । उता चौरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको ज्वालादेवि आधारभुत विद्यालयको भवन पनि उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् ।
त्यस्तै काभ्रेको भुम्लु हुँदै जाने मध्यपहाडी लोकमार्ग अन्तर्गत खर्कपाखा शिवभक्ति बस्ती माथिबाट खसेको पहिरोका कारण सो बस्तीका केहि घर उच्च जोखिममा रहेको स्थानीय क्रान्ती लामाले जानकारी दिए ।