काभ्रेमा सत्ता साझेदार दलबीच गठबन्धन नहुने लगभग निश्चित भएपछि एमालेमा खुशीयाली छाएको छ ।
पाँचदल बीच साँचो अर्थमा गठबन्धन हुने हो भने काभ्रेको कुनै पनि पालिका जित्न हम्मे हम्मे पर्ने एमालेको आंकलन छ । जब जब जिल्लामा सत्ता साझेदार दलहरुबीच कुरा नमिलेको सञ्चार बाहिर आउँछ । एमाले नेता कार्यकर्ता सामाजिक सञ्जाल मार्फत खुशी ब्यक्त गर्छन् ।
मन र मत मिल्ने गरी गठबन्धन हुँदा एमालेलाई जिल्लाको १३ वटै पालिकामा निकै सकस पर्ने देखिन्छ । एमालेका नेता कार्यकर्ता गबन्धनको कुरा नमिल्दा हौसिने र होच्याउने दुबै काममा सामाजिक सञ्जालमा ब्यस्त हुन्छन् ।
काभ्रेको गठबन्धनभित्र संख्याको हिसाब किताब मिलेको छैन् । गठबन्धनभित्र रहेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आ आफ्नो अडान नछोडेपछि मिलाउने जिम्मा सबै दलले प्रदेशलाई दिएका छन् ।
केन्द्रले जिल्लालाई नै मिलाउने अधिकार दिएपनि दलहरु टसमस नभएपछि प्रदेशमा पुगेको हो । कांग्रेस एक्लैले ९ वटा स्थानीय तहमा दाबी गरेको छ । माओवादी केन्द्रले ६ वटा, नेकपा (एकीकृत समाजवादी) ले ४ वटा र जनता समाजवादी ले १ वटा स्थानीय तह प्रमुखको दाबी गरेका छन् । जिल्लामा १३ वटा स्थानीय तह छन् ।
गठबन्धन नहुँदा अहिले अनुमान गरिएभन्दा सिट संख्या बढ्ने भन्दै एमाले नेता कार्यकर्ता खुशी देखिएका हुन् । गठबन्धन हुने कुराले असहजता महशुस गरिरहेको एमाले यसअघि जितेका पालिकाहरु यो पटक आफ्नै पक्षमा हुने कुरामा ढुक्क बन्दै गएको हो ।
शनिबार बनेपामा एमाले नगरकमिटीले आयोजना गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले गठबन्धन भत्किसकेको र जिल्लाको १३ वटै पालिकामा एमालेले विजयी हासिल गर्ने ठोकुवा गर्नुभएको थियो ।