सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एमालेले प्रचण्डको निरन्तरता चाहनुका दुई कारण : आज के हुन्छ संसदमा ?

एमालेले प्रचण्डको निरन्तरता चाहनुका दुई कारण : आज के हुन्छ संसदमा ?

2870
Shares
एमालेले प्रचण्डको निरन्तरता चाहनुका दुई कारण : आज के हुन्छ संसदमा ?

जेठ १०, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सन्तोषजनक परिणाम ल्याएका कारण एमाले निर्धारित मितिमै चुनाव हुनुपर्ने मान्यतामा अडिग छ । तर, कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनेबित्तिकै नयाँ सरकार गठन प्रक्रियामा कम्तीमा दुई साता समय व्यतीत हुने भएकाले निर्वाचनको मिति अन्योलमा पर्ने एमालेको आशंका छ ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनेबित्तिकै माओवादी केन्द्रसँगको समझदारीअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा सहजै प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । तर, एमाले चुनावअघि प्रतिस्पर्धी दलका सभापति प्रधानमन्त्री बन्दा सत्ता दुरुपयोगबाट आफू ठूलो दल बन्ने बाटो छेकिन सक्ने विश्लेषणमा छ । त्यसैले तेस्रो दलका अध्यक्ष प्रचण्डले नै चुनाव गराउँदा पार्टीका लागि सहज हुने एमालेको आँकलन छ । चुनावपछि भने माओवादी केन्द्रलाई मनाएर सरकारको नेतृत्व लिन सहज वातावरण बन्न सक्ने एमालेको बुझाइ छ ।
एमालेको अवरोधले राजीनामा दिन पाएनन् प्रधानमन्त्रीले
सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार संसद्लाई विशेष सम्बोधन गरेर राजीनामा दिन ठिक्क परेका थिए । राजीनामापत्र बोकेरै उनी दिउँसो संसद् भवन पुगेका थिए । तर, तराईमा २२ वटा स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै एमालेले संसद् अवरोध गर्ने र प्रधानमन्त्रीलाई सम्बोधनसमेत गर्न नदिने अडान लिएपछि प्रचण्डको राजीनामा रोकियो । दलहरूबीचको विवादका कारण संसद् नै नचलेपछि राजीनामापत्र त्यत्तिकै बोेकेर प्रधानमन्त्री बालुवाटार फर्किएका छन् ।
दोस्रो निर्वाचनसम्म नकुर्ने ‘मुड’मा देउवा
पार्टीभित्रै बाट दोस्रो चरणको निर्वाचनसम्म प्रधानमन्त्रीका लागि हतार नगर्न दबाब परे पनि कांग्रेस सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्रीको राजीनामाको पक्षमा छन् । उनीनिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दोस्रो चरणको निर्वाचन कुर्ने ‘मुड’मा देउवा छैनन् । ‘सभापति पनि दोस्रो चरणको निर्वाचनपछि मात्र प्रचण्डबाट राजीनामा आउनुपर्छ भन्ने पक्षमा हुनुहुन्न,’ कार्कीले भने । सरकार परिवर्तन हुँदा बजेट ल्याउन र निर्वाचनलाई कुनै असर नहुने देउवाको बुझाइ छ ।
आज के हुन्छ संसद्मा ?
प्रधानमन्त्री प्रचण्डले बुधबारको संसद् बैठक अवरोध भए राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने योजना बनाएका छन् । ‘सदनलाई जानकारी गराएर सम्बोधनसहित राजीनामा प्रधानमन्त्रीको पहिलो विकल्प हो, तर त्यसो नभए मिडियासमक्ष आफ्ना भनाइ राखेर राजीनामा दिनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले भने ।
स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिए एमालेले बुधबारको संसद् बैठक अवरोध गर्ने तयारी गरेको छ । ‘हामीले प्रस्ट भनेका छौँ, संख्या थप्ने निर्णय फिर्ता लिनुस्, अवरोध गर्दैनौँ’, नेम्वाङले भने । कांग्रेसले बुधबार संसद्मा प्रक्रिया अघि बढ्ने जनाएको छ । ‘प्रधानमन्त्रीले राजीनामा दिने वचनबद्धता गरिसक्नुभएको छ । अब संसद्मा बुधबार प्रक्रिया अघि बढ्छ,’ कांग्रेस नेता डा. रामशरण महतले भने ।
– नयाँ पत्रिका

2870
Shares

ट्रेन्डिङ