सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली

देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली

3260
Shares
देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली

काठमाडौँ, भदौ १० । प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उडाइएको छ ।’

स्वास्थ्य परीक्षणका लागि बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले पत्रकारसँग भने, ‘देउवाले मुलुकको शिर निहुर्‍याउने काम गरे ।’‘प्रभु संसद्को गणितले गर्दा संविधान संशोधन पारित गर्न सकिनँ तर चाँडै गर्नेछु, मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले यस्तो अभिव्यक्ति दिँदा देशकै शिर निहुरिएको छ’, ओलीले भने ।

‘प्रधानमन्त्रीले गिडगिडाउँदै लज्जास्पद ढंगबाट प्रभु मैले गर्न सकिनँ, कोसिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भनेर याचना गर्नुभयो । त्यो वाक्य, शैली हाउभाउ हेर्दा देशकै शिर निहुरिन्छ । हामी सबैका लागि यो अत्यन्त दुःखको कुरा हो’, ओलीले भने । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत भइसकेको विषयमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु सार्वभौम राष्ट्रको अपमान भएको ओलीले जिकिर गरे ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिबाट संसद्को निर्णयको समेत धज्जी उडाएको ओलीको तर्क थियो । संसद्ले संशोधन विधेयक अस्वीकृत गरेको थियो । ‘प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद् र नेपाली जनताको अपमान भएको छ’, उनले भने । भारतीय प्रधानमन्त्री मोदीले सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न आग्रह गर्नेबित्तिकै अत्तालिएका देउवाले आफूले दुई तिहाइ पुर्‍याउन नसकेको बिन्ती लाउँदै फेरि आवश्यक संख्या पुर्‍याएर पारित गर्ने विश्वास दिलाउनु राम्रो नभएको ओलीको तर्क थियो ।

‘प्रधानमन्त्रीको संविधान संशोधनबारे प्रतिरक्षात्मक अभिव्यक्तिले देशकै शिर निहुर्‍याएको छ । कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिनुभयो भन्न मलाई मन छैन । मलाई लाज लागेको छ’, पूर्वप्रधानमन्त्री ओलीले भने ।

‘टीकाटिप्पणी आवश्यक छैन’
पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री देउवाले भारतमा दिएको अभिव्यक्तिबारे टीकाटिप्पणी आवश्यक नरहेको जिकिर गरे ।उनले भने, ‘संशोधन प्रस्ताव पारित गर्न सकिन्छ, फेरि गर्छु भन्ने कुरामा टीकाटिप्पणीको ठाउँ हुँदैन ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री विदेश गएका बेला उहाँका अभिव्यक्तिबारे गरिने जुनसुकै टिप्पणी राम्रो नहुने बताए । उनले भने, ‘यस विषयमा म प्रधानमन्त्री स्वदेश आएपछि मात्रै बोल्छु ।’राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री देउवाले उनका समकक्षी मोदीसँग सत्य वचन बोलेको बताए ।

वर्तमान संविधान त्रुटिपूर्ण रहेको भन्दै मधेसी, थारू, आदिवासीसहित सिंगो मुलुक आन्दोलित रहेकै बेला छिमेकमा गएर देउवाको यो अभिव्यक्ति आउनु स्वाभाविक भएको उनको तर्क थियो । दिल्ली मात्र नभई विश्वका जुनसुकै मञ्चमा प्रधानमन्त्रीले यो संविधान अधुरो, त्रुटिपूर्ण छ, सच्याउँदै सर्वस्वीकार्य गराउँछु भन्ने प्रतिबद्धता व्यक्त गर्छु भन्नु राम्रो हो’, महतोले भने, ‘तर देउवाको कथनी र करणीमा फरक छ । प्रधानमन्त्रीले विश्वमञ्चमा गएर संशोधन पारित नभएसम्म संविधान सर्वस्वीकार्य नहुने भन्नु आफूहरूको संशोधनको माग सही रहेको प्रमाण हो ।’

तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले घरेलु मामिलालाई द्विपक्षीय एजेन्डाका रूपमा राख्नु पूर्णरूपमा गलत रहेको टिप्पणी गरे । ‘देउवाको त्यो अभिव्यक्ति ठूलो त्रुटिपूर्ण छ’, उनले भने । ‘कांग्रेसका साथीहरू संशोधन प्रक्रियाबाट राजपालाई चुनावमा ल्याउन सफलता प्राप्त गरिरहेको दाबी गरिरहेका छन्’, उनले भने, ‘तिनैका नेता प्रधानमन्त्री देउवाले संशोधन पारित गर्न सकिनँ तर केही छैन आउने दिनमा फेरि गर्छु र हुन्छ भन्नु गलत हो ।
-अन्नपुर्ण पाेस्ट

3260
Shares

ट्रेन्डिङ