सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘समावेशी र समन्यायिक विकासको अवधारणा अनुरुप नै गाउँपालिकाले बजेट निर्धारण गरेको छ’ : प्रमुख प्रशासकीय अधिकृत सापकोटा

‘समावेशी र समन्यायिक विकासको अवधारणा अनुरुप नै गाउँपालिकाले बजेट निर्धारण गरेको छ’ : प्रमुख प्रशासकीय अधिकृत सापकोटा

12965
Shares
‘समावेशी र समन्यायिक विकासको अवधारणा अनुरुप नै गाउँपालिकाले बजेट निर्धारण गरेको छ’ : प्रमुख प्रशासकीय अधिकृत सापकोटा

काभ्रेको बेथानचोक गाउँपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका विभिन्न उपायहरु अपनाइरहेको छ । कोभिड १९ कै कारण चालु आर्थिक वर्षका लागि विनियोजन गरिएका कतिपय योजनाहरु पुरा नहुने अवस्थामा छन् । तर पाकिलाले सकेसम्म सबै योजनाहरुलाई सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको छ ।

त्यस्तै पालिकाले आगामी आर्थिक वर्ष २0७७-0७८ का लागि बजेट बनाउने कामलाई समेत तीब्रता दिइरहेको छ । चालु आर्थिक वर्षको योजना, कोरोना भाइरसको रोकथाम र आगामी वर्षको बजेटका बारे हामीले पालिका प्रमूख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटासँग कुराकानी गरेका छौं ।

➤ गाउँपालिकाको पछिल्लो गतिविधि के के हुँदैछन् ?
हामी अहिले यस आर्थिक वर्षको करिब करिब अन्त्यमा छौं । सदाझैं नेपालको संविधान, स्थानीय सरकारसञ्चालन ऐन लगायत अन्य कानूनहरुले स्थानीय तहलाई विभिन्न किसिमका अधिकार, जिम्मेवारीहरु हस्तान्तरण गरेको सन्दर्भमा स्थानीय स्तरका सेवा प्रवाह गर्ने लगायत स्थानीय स्तरका विकास निर्माणका कार्यहरु र स्थानीय स्तरमा सामान्य प्रकृतिका न्याय सम्पादनका कार्यहरु बेथाञ्चोक गाउँपालिकाले गर्दै आएको छ ।

हाल विश्वमा महामारीको रुपमा देखिएको कोभिड–१९ रोगको सन्दर्भमा यस जोखिमलाई न्यूनीकरण गर्न गाउँपालिकाले क्वारेन्टाइन स्थापना, स्वास्थ्यकर्मी परिचालन, चेतनामूलक सन्देस प्रवाह देखि लिएर अन्य तथ्यांक संकलनका कार्यहरु गरिरहेको छ । साथसाथै गाउँपालिकाले गर्नुपर्ने नियमित किसिमका विकासका कार्यहरु रसेवाहरु पनि यथासक्य प्रवाह गरिरहेका छौं ।

➤चालु आर्थिक वर्षका लागि कस्ता योजनाहरु बनाउनुभएको थियो, कति प्रतिशत सफल भए ? कति प्रतिशत योजनाहरुलाई आसन्न आवका लागि अघि सार्नुपर्ने भएको छ ?
समग्रमा करिब ८० देखि ९० प्रतिशत वित्तीय र भौतिक प्रगति भएको देखिन्छ । गाउँपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको पर्या–पर्यटन पूर्वाधार निर्माण, नदी नियन्त्रण तथा करिडोर निर्माण, सडक सुदृढिकरणका ठेक्का सम्झौता लकडाउनका कारण हालै मात्र सम्झौता भइ निर्माण कार्य प्रारम्भ भएका छन् ।

यस लगायत वडा कार्यालय तथा स्वास्थ्यचौकी भवनहरु र सामुदायिक अध्ययन केन्द्रका भवनहरु लगभग हामीले सम्पन्न गर्ने चरणमा छौं । त्यसैगरी संघीय, प्रादेशिक संसदीय कार्यक्रम अन्तर्गतका पूर्वाधार निर्माणतथा स्थानीय स्तरका अन्य विकास निर्माणका क्रियाकलापहरु वडास्तरमा पनि सञ्चालन भइरहेका छन् ।

➤प्रशासकीय स्थलबाट वडा नं. १ र ६ अलि टाढा छ । ती क्षेत्रलाई कसरी सम्बोधन भएको छ ?
समानुपातिक, समावेशी र समन्यायिक विकासको अवधारणा अनुरुप नै तत् तत् क्षेत्रको आवश्यकता र मागको आधारमा गाउँपालिकाले कार्यक्रम तथा बजेट निर्धारण गरेको छ । त्यसका लागि वडास्तरमा नै आवश्यकता पहिचान गरी कार्यक्रममा समेट्ने तथा ठूला स्तरका आयोजनाहरु प्रदेश तथा संघ सरकारसँग साझेदारीमा गाउँपालिकाले कार्यान्वयन गर्दै आएको छ ।

➤ अहिलेको बजेटको ठूलो हिस्सा कुन क्षेत्रमा लगाउँदै हुनुहुन्छ ?
निश्चय नै कोभिड १९ का कारण लगाइएको बन्दाबन्दीको कारण नकारात्मक असरहरु परेका क्षेत्रमानै आ.व. ०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनेछ भन्ने मेरो विश्वास छ । त्यसमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रहरु पर्दछन् ।

➤अहिले ज्यादा त युवाहरुको रोजगारी गुमेको अवस्था छ । अर्काेतिर खाद्यान्न संकट पनि देखा पर्ने अवस्था छ, सँगै किसानहरुलाई मार परिरहेको छ । गाउँपालिकाको ठोस योजना कस्ता हुने छन् ?
गाउँपालिकाले हालै निर्माण गरेको कृषि गुरुयोजनाले यी विषयहरुलाई सम्बोधन गर्दछन् । वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको ज्ञान सिप तथा स्थानीय सम्भाव्यतालाई संयोजन गर्दै कृषिमा आधुनिकीकरण, विविधीकरण लगायत कृषि उत्पादनमा आधारित उत्पादनहरुलाई परिस्किृत गर्दै बजारीकरण गर्न आगामी आ.व.मा कार्यक्रमहरु तय गर्ने सोच गाउँपालिकाको रहेको छ ।

➤ बेथाञ्चोकलाई आलुको सुपरजोनमा पनि दर्ज गरिएको छ । हामीसँग अन्य पर्यटकीय स्थलहरु पनि छन्, सँगै होम स्टेको प्रचुर सम्भावनाहरु पनि देखिएका छन्, गाउँपालिकाले यतातिर ध्यान पु¥याएको छ ?
गाउँपालिकाले पर्यटन विकासका लागि छुट्टै पर्यटन विकास गुरुयोजना निर्माण गरेको छ । जसमा गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय स्थलहरुको पहिचान गरी तीनको प्रचारप्रसार तथा पूर्वाधार विकासका लागि योजनाहरु तय भएका छन् । चालू आ.व. मा पनि पर्यटन विकास सम्बन्धी योजनाहरु कार्यान्वयनको अवस्थामा रहेका छन् । त्यसै गरी होमस्टेलाई व्यवस्थित गर्ने तथा क्षमता अभिवृद्धि गर्दै व्यवसायीकरणमा जोड दिन गाउँपालिकाले छुट्टै कार्यविधि समेत बनाउने तयारीमा रहेको छ ।

➤युवा लक्षित स्वरोजगारका केही कार्यक्रमहरु छन् ?
पर्यटन, कृषि, पशुपालन लगायत अन्य सम्भावनायूक्त व्यवसायहरु केन्द्रित गरी गरिने क्षमता विकासका कार्यक्रमहरु अनुदानका कार्यक्रमहरु तथा बजारीकरण लगायतका कार्यक्रमहरुले प्रत्यक्ष वा परोक्ष रुपमा युवा स्वरोजगारलाई नै टेवा पुग्छ जस्तो लाग्छ । यसका साथै युवालक्षित व्यवसायिक तालिमका कार्यक्रमहरुमा पनि गाउँपालिकाको समेट्दै आएको छ ।

➤कृषिमा मूलतः कुन कुन कुरालाई प्राथमिकतामा राख्नुभएको छ र अनुदानहरु के के छन् ?
हावापानी, उचाइ तथा माटोको अनुकुलता आधारमा नगदे तथा कृषि बालीको प्रवद्र्धन, समूह तथा सहकारीमा आधारित कृषि जस्ता कुराहरु नै प्राथमिकताका क्षेत्रहरु हुन । अनुदानको सन्दर्भमा माटो परीक्षण, बीउ वितरण, कृषि औजार वितरण, क्षमता विकास तालिम तथा अन्य कृषि सेवाहरु रहेका छन् ।

➤कोभिड १९ को महामारी छ, शिक्षामा बजेट कति छ, नियमित कक्षा सञ्चालन बाहेक अरु के के गतिविधिलाई प्राथमिकतामा राख्नुभएको छ ?

कोभिड–१९ को कारण प्रभावित क्षेत्रमध्ये शिक्षा पनि एउटा हो ।गत वैशाखबाट सञ्चालन हुनुपर्ने शैक्षिक सत्र अझै सुरु भएको छैन । यसले प्रत्यक्ष असर विद्यार्थीहरुलाई परेको छ । प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आजको आवश्यकता हो ।

यद्यपि भौगोलिक, आर्थिक लगायतका कारणले भर्चुअल क्लासमा कठिनाइ देखिन्छ । तथापी विद्यार्थीको शैक्षिक अधिकारलाई केन्द्र विन्दुमा राखी उपयुक्त खालको सिकाइ क्रियाकलाप सञ्चालन गर्ने सोचमा गाउँपालिका रहेको छ । बजेटको सन्दर्भमा संघ र प्रदेशको शशर्त अनुदानका साथै मागमा आधारित अन्य क्रियाकलापहरुको लागि समेत गाउँपालिकाले पर्याप्त बजेट विनियोजन गर्दै आएको छ ।

➤ कोभिड–१९ तर्फ सबैको ध्यान केन्द्रित भइरहँदा अन्य नियमित खोपका कार्यक्रमहरु, अन्य गाउँघर क्लिनिक, स्वास्थ्य क्लिनिकहरुलाई तपाईंहरुले कतिको नियमित दिनुभएको छ ?
कोभिड–१९ को महामारी तथा नेपालमा बन्दाबन्दी सुरु भएको केही समय गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य सेवामा केही अन्यौलता कायम भएकै हो । यद्यपी हाल स्वास्थ्यसेवाहरु नियमित रुपमा प्रवाह भैरहेका छन् ।

➤स्वास्थ्य सामग्री र औषधीहरुको उपलब्धताको अवस्था के छ ?
संघीय, प्रदेश सरकारको स–सर्त अनुदान तर्फका स्वास्थ्य सामग्री तथा औषधीहरु नियमित रुपमा आपूर्ति भैरहेका छन् तथा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत र कोरोना सँग सम्बन्धित सामग्रीहरु पनि यथासक्य उपलब्ध गराउने प्रयास भै रहेको छ ।

➤ गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनको अवस्था के छ ? त्यहाँको इन्फाइन्स्ट्रक्चर के छ ? कति जनालाई राख्नुभएको छ ? भावि दिनमा कति जनाको क्षमतालाई हामीले भार बहन गर्नसक्छौं ?
क्वारेन्टाइनको विषयमा भन्नुपर्दा हामीले प्रथमतः यस गाउँपालिकाबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लगत संकलन गरेका छौं । सोही आधारमा हाल ४० जनाको लागि क्वारेन्टाइन स्थल तयारी अवस्थामा छ भने वैकल्पिक रुपमा अन्य २ विद्यालयहरुमा पनि आवश्यक व्यवस्थापनको कार्य भैरहेको छ । समग्रमा गाउँपालिकामा ९० देखि १०० जना सम्मलाई राख्ने क्षमता छ । हाल बेथानचोक गाउँपालिकामा १८ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहनुभएकोमा उहाँहरुको रिपोर्ट नेगेटिभ आएसँगै बिदा हुनु भयो भने हिजोबाट पुनः ५ जना क्वारेन्टाइन बस्नु भएको छ ।

➤भारतबाट अझ पनि आगामी दिनमा आउने सूचनाहरु प्राप्त भएका छन् ?
औपचारिक रुपमा गाउँपालिकालाई भएको छैन र अनौपचारिक रुपमा १-२ जना व्यक्तिगत रुपमै जस्तै घरपरिवारसँग सम्पर्क भएको आधारमा आउने भन्ने बुझिएको छ ।

अहिले १८ जना जो क्वारेन्टाइनमा हुनुहुन्छ, त्यहाँको जुन सीमा नाकामा भएको स्थानीय तहको समन्वयमा उहाँहरुलाई ल्याउन सफल भएका छौं । त्यहाँको नगरपालिकाले बनाएको जुन क्वारेन्टाइनमा उहाँहरु बसेर आउनुभएको र त्यहाँको नगरपालिका, गाउँपालिकासँग सिधा समन्वय भएको आधारमा यहीँबाट प्रतिनिधि गएर ल्याउनुभएको हो र अन्य व्यक्तिहरुको हकमा तत्काल आउने जस्तो र उहाँहरु कतै क्वारेन्टाइनमा बस्नुभएको भन्ने गाउँपालिकालाई जानकारी छैन ।

12965
Shares

ट्रेन्डिङ