सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सेभ द चिल्ड्रेनको मिथ्यांक: २३ करोड घोटाला आशंका

सेभ द चिल्ड्रेनको मिथ्यांक: २३ करोड घोटाला आशंका

5640
Shares
सेभ द चिल्ड्रेनको मिथ्यांक: २३ करोड घोटाला आशंका

काठमाडाैं, १० भदाै । सेभ द चिल्ड्रेनले ग्लोबल फन्डलाई एचआइभी संक्रमितको फर्जी डाटा देखाएर वर्षको २३ करोड रूपैयाँ लिएको सरकारी अधिकारीहरूको आशंका छ । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा समावेश भएको डाटा र सेभ द चिल्ड्रेनले दातृ निकाय ग्लोबल फन्डलाई दिएको डाटामा एचआइभी संक्रमितको संख्या १ हजार ८ सय ८८ ले फरक रहेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सेभ द चिल्ड्रेनमार्फत ग्लोबल फन्डलाई दिएको डाटामा आर्थिक वर्ष ०७५/७६ मा १७ हजार ९ सय ८७ जना एचआइभी संक्रमितले औषधि उपचार सेवा लिएको देखाइएको छ । तर सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा भने १६ हजार ९९ एचआइभी संक्रमित रहेको उल्लेख छ । यो तथ्यांक सरकारले देशभरका करिब ८ हजार स्वास्थ्य संस्थाबाट संकलन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकजना एचआइभी संक्रमितको औषधि उपचारका लागि वर्षमा १ लाख २५ हजारभन्दा बढी रूपैयाँ खर्च हुने गरेको छ । यसअनुसार १ हजार ८ सय ८८ जना बढी देखाएर ग्लोबल फन्डबाट सेभ द चिल्ड्रेनले आर्थिक वर्ष ०७५/७६ मा मात्र २३ करोड ६० लाख रूपैयाँ बढी लिएको सरकारी अधिकारीहरूको आरोप छ ।

सेभ द चिल्ड्रेनमार्फत पठाएको डाटाका आधारमा संक्रमितको उपचारबापत लागेको खर्च ग्लोबल फन्डले दिँदै आएको छ । नेपालमा एचाइभी संक्रमितको औषधि उपचारका लागि वर्षिक २ अर्ब रकम खर्च हुने गरेको छ । सेभ द चिल्ड्रेनले नेपालमा एचआइभी, मलेरिया, टिबीजस्ता सरुवा रोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटा सरकारको तथ्यांकभन्दा सेभ द चिल्ड्रेनको तथ्यांक बढी हुन नसक्ने स्पष्ट पारिन् । ‘संक्रमतिको संख्या फरक हुुनु गलत हो’, उनले भनिन् । आफूले हालै केन्द्रको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले तथ्यांकमा देखिएको भिन्नताबारे सेभ द चिल्ड्रेनका कर्मचारीसँग बुझ्ने बताइन् । ‘के भएको हो, छानबिन हुन्छ’, उनले भनिन् ।

केन्द्रका कर्मचारीले भने सेभ द चिल्ड्रेनको बदमासी ढाकछोप गर्दै आएका छन् । सेभ द चिल्ड्रेनबाट केन्द्रका कर्मचारीले आर्थिक लाभ पाउने भएकाले बदमासीमा साथ दिँदै आएको स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरूको भनाइ छ । फर्जी संक्रमितको संख्या देखाएर नेपालको बदनाम गर्ने सेभ द चिल्ड्रेनका कर्मचारीमाथि कारबाही हुनुपर्ने उनीहरूले बताए । सुनिल सापकाेटाले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

5640
Shares

ट्रेन्डिङ