सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रेले २०७४ मा जितेको पालिकामा यो पटक जित्ला की नजित्ला ?

एमाले काभ्रेले २०७४ मा जितेको पालिकामा यो पटक जित्ला की नजित्ला ?

13190
Shares
एमाले काभ्रेले २०७४ मा जितेको पालिकामा यो पटक जित्ला की नजित्ला ?

एमाले काभ्रेको नेतृत्व अहिले पालिका स्तरमा स्थानीय निर्वाचन तयारी प्रशिक्षण कार्यक्रमका लागि ब्यस्त छ ।

ब्यानरमा नाम प्रशिक्षण कार्यक्रमको दिइएपछि प्रशिक्षण हलभित्र भने उम्मेदवारको खोजी भइरहेको छ । प्रशिक्षण कार्यक्रम लगभग अन्तिम चरणमा पुग्दै गर्दा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले सबै जसो पालिकामा पुगेर कार्यकर्ताको आकांक्षा बुझ्ने कोशिस गर्नुभएको स्रोतको दाबी छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काभ्रेको ६ मध्ये ५ वटा नगरपालिकामा सानदार जित हासिल गरेको थियो । तर यो पटकको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच गठबन्धन भयो भने एमालेले सम्भवतः नगरपालिकामा अहिलेसम्मकै बढी सकस ब्यहोर्ने छ । एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाको गृह नगर मण्डनदेउपुर नगरपालिका नै यो पटक एमालेका लागि सुरक्षित देखिँदैन् । पार्टी फुटको सबैभन्दा बढी असर यहि नगरपालिकामा छ ।

एमाले काभ्रेले आफ्नो १० औँ जिल्ला अधिवेशनमा राप्रपाको सिंगो जिल्ला कमिटीलाई प्रवेश गराएपनि नगरपालिकाहरुमा खासै प्रभाव छैन् । नेकपा तत्कालिन अवस्थामा रहेका माओवादीका कार्यकर्ता पनि नगरपालिकामा बाहिर भनिए जस्तो एमालेमा छैनन् । बरु माओवादी केन्द्रका धेरै जसो नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको पाइन्छ ।

एमालेभित्र टिकटको सबैभन्दा बढी लफडा हुने निश्चित छ । पार्टी फुट्ने बेला एउटै वडामा आधा दर्जनसम्मलाई वडाध्यक्षको टिकट बाँडिएको छ । अहिले पालिका स्तरमा भइरहेका निर्वाचन तयारी प्रशिक्षणमा पनि टिकट ब्यवस्थापनकै लागि नेतृत्वले बढी जोड दिएको पाइएको छ ।

धेरै जसो प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षका उम्मेदवार सर्वसम्मत गराउन पालिका स्तरका नेताहरुलाई निर्देशन दिँदै आइरहनुभएको छ । प्रशिक्षणमा सहभागि भएका र हिजो गोकुल बाँस्कोटाले नै टिकट दिन्छु भन्दै थामिएका कयौँ कार्यकर्ता अहिले बाँस्कोटाको अभिब्यक्तिले दंग परेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाको ७ वटा गाउँपालिका मध्ये भुम्लु र खानीखोला गाउँपालिकामा मात्रै जितेको थियो । चौरीदेउरालीमा माओवादी केन्द्र, तेमालमा नेपाली कांग्रेस, महाभारतमा माओवादी केन्द्र, रोशीमा कांग्रेस र बेथानचोक गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको थियो ।

भुम्लुमा एमालेको ठूलो तप्का नेकपा (एकीकृत समाजवादी) मा छ । भुम्लुमा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रहेका नै एमालेमा भएपनि फुटेपछिको मत पुरा गर्न गाह्रो छ । अहिलेसम्म एमालेमा फुटको खासै असर नदेखिएको खानीखोला गाउँपालिका मात्रै हो । गठबन्धन नहुने हो भने एमालेले यो पालिका आफ्नो पक्षमा कायमै राख्ने देखिन्छ ।

महाभारत, रोशी र चौरीदेउराली गाउँपालिकामा एमाले केहि चलायमान देखिएको छ । तर अघिल्लो पटक हार ब्यहोर्दाको मत पुर्ति गर्न सक्ने अवस्थामा एमाले छैन् । किन भने पार्टी फुटको असर यी पालिकामा पनि परेको छ । रोशी गाउँपालिकामा एमालेलाई राप्रपाको भोट केही थपिने छ । तर फोरम कांग्रेसमा विलय भएको र उसका कार्यकर्ताहरु कांग्रेसप्रति बफदार रहेका कारण राप्रपाको भोट एमालेलाई जितको लागि पर्याप्त नहुन सक्छ ।

अघिल्लो पटक एक जनापनि एमाले उम्मेदवार विजयी नभएका बेथानचोक गाउँपालिकामा यो पटक पनि खासै उत्साह छैन् । पार्टीका गतिविधिहरु पनि अन्य पालिकाको तुलनामा यो पालिकामा एमालेको निकै कम देखिन्छ । तेमाल गाउँपालिकामा एमालेको ठूलो पंक्ति नेकपा (एकीकृत समाजवादी) मा छ ।

जिल्ला भर कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भयो भने एमालेलाई अहिलेकै अवस्थामा निकै संकट पर्ने देखिन्छ । कतिपय एमाले काभ्रेका दोस्रो तहका नेताहरु जिल्लाभर संघीय सरकारमा रहेका दलबीच गठबन्धन भयो भने यो पटकको निर्वाचनमा केहि वडाध्यक्ष बाहेक सबै पालिका गुमाउनुको विकल्प नभएको टिप्पणी गर्छन् ।

13190
Shares

ट्रेन्डिङ