सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रकाशकीय: सबैको समाचार आठौँ वर्षमा प्रवेश

प्रकाशकीय: सबैको समाचार आठौँ वर्षमा प्रवेश

1885
Shares
प्रकाशकीय: सबैको समाचार आठौँ वर्षमा प्रवेश

आजबाट हामी स्थापनाको ८ औँ वर्षमा प्रवेश गरेका छौँ । नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमले स्थापनाको सातौँ वसन्त पार गरेको छ । विद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयास स्वरुप २०७३ साल वैशाख २७ गते बाट सबैको समाचार डटकमको शुरुवात भएको हो ।

काभ्रेपलान्चोक जिल्लामा रहेर हामीले अनलाईन संचालन गर्दै गर्दा जम्मा तीन ओटा अनलाईन मात्रै खुलेका थिए । ती पनि गुमनाम जस्तै अवस्थामा थिए । खासै समाचारहरु अपडेट थिएनन् । जब हामीले सबैको समाचार डट कम सुरुवात गर्यौँ,तब काभ्रेमा अनलाईन न्यूज पोर्टल खोल्ने क्रमले तिब्ररुप लियो ।

सिमित स्रोत र साधन असिमित समस्या अनि अनगिन्ती अभावका बिच आफुलाई स्थापित गराउन नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमका लागि पक्कै पनि सहज थिएन ।

अनगिन्ती चुनौति,धम्की र समस्याहरुको सामना गर्दै बिगत ७ बर्षदेखि यो यात्रा निरन्तर अघि बढिरहेको छ । सात वर्ष अघि आजकै दिन सबैको समाचार न्यूज पोर्टलको स्थापना भएको थियो । त्यसपछिका यात्रामा रहेका चुनौतीको सामना गर्दै नहडबडाइ सत्य,तथ्य,निष्पक्ष र पारदर्शी सूचना प्रवाहमा हामी कहिल्यै कतै पनि बिचलित भएनौँ र आगामी दिनमा पनि हुनेछैनौँ ।

जतिजति संकट र समस्याले हामीलाई चुनौती दिन्छ त्यति नै हामी आफुलाई थप जिम्मेवारी थपिएको महशुस गछौँ र आफुलाई थप जिम्मेवार बनाउँदै आफनो कामप्रति कटिबद्ध भएर लाग्यौँ र लाग्नेछौँ ।

त्यसैले होला पाठकहरुले हामीलाई बिश्वास गर्नुभएको छ । पाठक र शुभचिन्तकहरुको त्यहि बिश्वासलाई कायम राख्दै अघि बढ्न हामी निरन्तर प्रयत्न गरिरहेका छौँ । पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

राज्यले पत्रकारितालाई चौथो अंगका रुपमा परिभाषित गरेको छ । पत्रकारिता समाजको ऐना हो । त्यसैले पनि भन्ने गरिन्छ पत्रकारिता स्वतन्त्र,निष्पक्ष र पारदर्शी हुनुपर्छ ।

समाजका सत्य तथ्य कुरा ऐनामा जस्तै छर्रलंग पार्नु पत्रकारिताको धर्म हो । तर पछिल्लो समय एकाध बाहेक पत्रकारिताको पारदर्शिता र निष्पक्षतामा अविश्वास उत्तिकै बढ्दै गएको छ । केही गलत स्वार्थ बोकेका ब्यक्तिहरुले मिडिया सञ्चालन गरेका छन् ।

जसको फलस्वरुपः यसको उपयोगितामा ह्रास आएको छ , जसलेगर्दा पाठकले सत्य तथ्य समाचार र सूचनाबाट बञ्चित हुन र सीमित स्वार्थका सूचना ग्रहण गर्न बाध्य भएका छन् ।

स्वतन्त्रता, न्याय र सदाचारका लागि नेपाली पत्रकारिता कहिल्यै पछि हट्ने छैन । राज्यको हरेक शासन ब्यबस्था सँगै आफुलाई झन शसक्त र दर्बिलो बनाउदै गएको सिंगो नेपाली पत्रकारिता जगतले खेलेको भुमिका अतुलनिय छ ।

प्रविधिको विकाससंगै अहिले सञ्चार क्षेत्रले ठुलो फड्को मारिसकेको छ । छापामाध्यायम, रेडियो, टेलिभिजन हुँदै अनलाईन माध्यमको पत्रकारिता सम्म हामी आइपुगेका छौँ । जब प्रविधिको उपयोग बढ्दै गयो तब डिजिटल पत्रकारिता हावी हुँदै गएको अबस्था छ ।

सामाजिक सञ्जालको गलत प्रयोगका कारण अनलाईन पत्रकारितालाई शतप्रतिशत बिश्वास गरिनसकेको अबस्था भएपनि पत्रकारिताको ट्रेण्ड भने अबश्य फेरिएको छ ।

सामान्य सुचनाका लागि महिना, हप्ता र दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै डिजिटल पत्रकारिताले क्षणभरमै विश्वलाई एक क्लिकमा जोडन सफल भएको छ । बस यसको सदुपयोग गर्न जान्नुपर्छ ।

अनलाईन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन सञ्चारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ ।

विश्वका विकसित मुलुकहरूले अनलाईन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानुनको व्यवस्था समेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ । पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ।

छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ।

नेपाली पत्रकारिताको बिकास सँगै डिजिटल युगमा प्रबेश गरिसकेको अबस्थामा काभ्रे जिल्लाबाट ७ बर्षअघि नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमले आफ्नो यात्रा प्रारम्भ गरेको थियो ।

देश तथा विश्वमा भएका हरेक घटनाक्रमका बारेमा छिटो, छरितो र ताजा जानकारी दिँदै सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक बन्नु सबैको समाचारको मुख्य ध्येय हो ।

“तपाईँ हामी सबैलाई समेट्ने सबैको समाचार” स्लोगनलाई आत्मासाथ गर्दै अघि बढेका हामीले सबैलाई समेटेर अगाडी बढ्ने प्रयास निरन्तर गरिरहेका छौँ ।

अन्त्यमा यो हाम्रो सफलताको पहिलो श्रेय हाम्रा पाठक र शुचचिन्तक र बिज्ञापनदाताहरुलाई जान्छ । उहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव प्राप्त नभएको भए हाम्रो यात्रामा देखिएका विभिन्न समस्याहरुका दोबाटोमै अलमल्नि पनि सक्थ्यौँ ।

तरपनि उहाँहरुको साथ र सहयोग निरन्तर पाइरह्यौँ । जसका कारण आज हामीले यो उचाई छुन पाएका छौँ । यो यात्रामा साथ दिने सम्पूर्ण सहकर्मीहरुप्रति सदा ऋणी रहेने छौँ ।

तपाईँहरुको सुझाव र प्रतिक्रियालाई मनन गर्दै आफुलाई थप परिष्कृत गर्दै लैजाने कुरामा हामी कहिल्यै सम्झौता गर्नेछैनौँ । आगामी दिनमा पनि यो साथ, सहयोग र हौसलाको अपेक्षा गर्दछौँ ।

1885
Shares

ट्रेन्डिङ