सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन

कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन

2360
Shares
कुन्ताबेसीमा ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन

काभ्रे : मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कुन्ताबेसीमा निर्माण पुरा भएको ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन गरिएको छ । शुक्रबार नगरप्रमुख टोक बहादुर वाईबाले ‘लक्ष्मी नारायण पार्क’ उद्घाटन गर्नुभएको हो । हाल ‘लक्ष्मी नारायण पार्क’ रहेको स्थानमा पिपलको रुख थियो । पिपलको रुख जीर्ण बनेर जोखिम बढेसंगै पार्कको रुपमा रुपान्तरण गरिएको हो ।

पार्क निर्माणका लागि पहिलो चरणमा नगरपालिका र उपभोक्ता समिति बीच २०७८ साल फागुन ११ गते सम्झौता भएको थियो । पार्क २०७९ साल जेठ ३ गते निर्माण पुरा भएको थियो । पहिलो चरणमा पार्क निर्माणको कुल लागत २२ लाख ९८ हजार ६०८ रुपैयाँ रहेको थियो । पार्क निर्माणमा नगरपालिकाले १९ लाख ५६ हजार ७१ रुपैयाँ सहयोग गरेको पार्क निर्माण तथा संरक्षण समितिका अध्यक्ष राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । जनसहभागिता बापत ३ लाख ४२ हजार ५३७ रुपैयाँ खर्च भएको थियो ।

पार्कमा ७ फिट उचाई, ३ इन्च चौडाई र १८ इन्च मोटाईको लक्ष्मी नारायणको मुर्ती राखिएको छ । लक्ष्मी नारायणको मुर्ति राखिएको ठाउँ मुनितिर १२ इन्च उचाई, १८ इन्च चौडाई र ४ इन्च मोटाई भएका ४ वटा पाञ्चायान देवताको मुर्ती राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पार्कको वरिपरि लक्ष्मी नारायण मुर्ती सहित पार्कको रंगरोगन गर्न दोस्रो चरणमा काम भएको थियो । यो काममा २ लाख ९६ हजार ५ सय खर्च भएको थियो । जस मध्ये नगरपालिकाले २ लाख ५३ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बाँकी ४३ हजार रुपैयाँ जनसहभागिता मार्फत लगानी भएको थियो ।

पार्क उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वाईबाले सबै जात, जाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । ‘हामी विभेद रहित नगरपालिका बनाउने प्रयत्न स्वरुप सबै जाती, धर्म, भाषा र संस्कृतिको संरक्षणमा काम गरिरहेका छौँ । पिपलको रुख ब्यवस्थापन गर्ने बेला केही समस्या आएपनि अहिले पार्क निर्माण पश्चात यो ठाउँलाई पुनः धार्मिक स्थलकै रुप दिन हामी सफल भएका छाँै । अब यसको उचित संरक्षण गर्ने दायित्व पनि तपाई हाम्रै हो ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख विष्णुमणी नेपालले सांस्कृतिक धरोहर पुनःनिर्माण गर्ने र जोगाउने काममा नगरपालिकाले विशेष भूमिका लेख्न बताउनुभयो । ‘नगरपालिकामा तपाईले मत दिएर जिताएका जनप्रतिनिधि छौँ । तपाईहरुको भावना विपरित कुनै काम हुँदैन । तर नगरपालिकाले ल्याएका नीति र योजनामा तपाईहरुको सहभागिता आवश्यक छ । रचनात्मक र साझा सुझाव दिनुहोस् । हामी त्यसलाई ग्रहण गरेर नीतिगत ब्यवस्था गर्छौँ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु पौडेल, पण्डित शिव प्रसाद सापकोटा, समाजसेवी रामहरी सापकोटा तथा समाजसेवी, स्थानीय सहभागि हुनुभएको थियो ।

यसैबीच उक्त पार्कमा राखिएको लक्ष्मी नारायण भगवान सहित पाञ्चायन देवताको प्राँण प्रतिष्ठासंगै राधा कृष्ण मन्दिर संरक्षणका लागि आजैबाट ४८ औ विराट ज्ञान महायज्ञ शुरु भएको छ । श्रीमद्भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ अन्तर्गत ४८ औँ विराट ज्ञान महायज्ञ शुरु भएको हो । महायज्ञ जेठ ३२ गतेसम्म चल्ने छ ।

2360
Shares

ट्रेन्डिङ