सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन

काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन

3365
Shares
काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन

काभ्रे : अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ ।

शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताएका छन् । उनका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, सामुदायिक बोर्डिङ स्कुल तथा ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

एउटा गाडीलाई नै बुक बस अर्थात् पुस्तकालय बनाइएको छ । झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस पुस्तकालयभित्र विभिन्न पुस्तक सजाएर राखिएका छन् । बुक-बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अङ्ग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको छ । बुक-बसमा किताबमात्र छैनन्, बसभित्र ठूलो एलसिडी मोनिटर पनि राखिएको छ । त्यसमा विद्यार्थीलाई अडियो, भिडियो सामग्री, डकुमेन्ट्री पनि देखाउने गरिएको छ ।

विशेषगरी सामाजिक तथा धार्मिक महत्त्व बोकेको पनौतीका दुई नदी पुण्यमाता र रोशी अहिले प्रदूषित र सङ्कुचित स्थितिमा रहेकाले यी नदी र वरिपरिको वातावरणबारे विद्यार्थीमाझ ध्यानाकर्षण र रुचि बढाउन पनौतीका शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । कार्यक्रमअन्तर्गत स्टिम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनीसमेत हुने जनाइएको छ ।

दूतावासले आफ्ना कार्यक्रममार्फत बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइ तथा ‘क्रिटीकल थिङ्किङ’ को विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्ने जनाएको हो । यसका साथै किताब पठन र प्रदर्शनीद्वारा स्थानीय वातावरणप्रति विद्यार्थी र समुदायको ध्यानाकर्षण गरी सामुदायिक संलग्नता प्रोत्साहन गर्ने बुक बसको उद्देश्य रहेको कार्यक्रम संयोजक तामाङले बताए ।

यस्तै बुक बसले विद्यालयमा विद्यार्थीसँग गरेको सबै कार्यशालामा विद्यार्थीले बनाएका सम्पूर्ण सामग्री प्रदर्शनीमा देखाइनेछ । प्रदर्शनी विद्यार्थी, शिक्षक तथा समुदायका सबै सदस्यको लागि खुला रहने जनाइएको छ । ‘बुक बसले अन्तरक्रियात्मक शिक्षालाई प्रोत्साहन गर्दछ । सजिलै उपलब्ध हुने सामग्रीको प्रयोग गरेर र विद्यार्थीलाई आफैँ वातावरण तथा परिवेश अवलोकन गरेर पढ्न र आलोचनात्मक सोच बढाउनतर्फ प्रवर्द्धन गर्दछ । उनीहरूको कल्पनाशक्ति बढाउँछ र पठनपाठन गर्नका लागि खुला वातावरणको सिर्जना गर्दछ’, अर्का कार्यक्रम संयोजक रुबिना प्रधानले भने ।

गत साल भदौमा दूतावासले १७ दिन काभ्रेपलाञ्चोकको बनेपा नगरका पाँच विद्यालयमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम अवधिभर बुक बसले भने ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान-प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको थियो । बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्यासागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हीरा शर्मा बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउँछन् । ‘मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशलामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो कार्यक्रम विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो’, उनले भने ।

यस्तै कार्यक्रमअन्तर्गत नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोकनाटक मञ्चन, ‘सिभिल राइटस् एण्ड लिबरटिज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिएको थियो । रासस

3365
Shares

ट्रेन्डिङ