सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पाँचखालका मेयर खरेल एक्सनमा उत्रिए: बजारको घर टहरा हटाउन शुरु

पाँचखालका मेयर खरेल एक्सनमा उत्रिए: बजारको घर टहरा हटाउन शुरु

2045
Shares
पाँचखालका मेयर खरेल एक्सनमा उत्रिए: बजारको घर टहरा हटाउन शुरु

काभ्रे : अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिकाको वडा नम्बर ६ मा पर्ने तीनपिप्ले बजारको घर टहरा हटाउन शुरु गरिएको छ ।

 

सोमबारबाट सडक मापदण्डभित्र रहेका घर टहरा हटाउन शुरु गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । डोजर लिएर सडक मापदण्डभित्र पर्ने अवैध संरचना भत्काउन नगरप्रमुख खरेल र वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल फिल्डमै पुग्नुभएको थियो ।

तीनपिप्लेको मोडमा अत्याधिक सडक दुर्घटना हुने गरेको र फराकिलो पार्न पटक पटक स्थानीय स्तरबाट कुरा उठेपनि कार्यान्वयन हुन सकेको थिएन । धेरै पटकको प्रयास पछि यो पटक तीनपिप्ले बजारको सडक मापदण्डभित्र पर्ने संरचना हटाउन सफल भएको हो ।

तीनपिप्ले बजार क्षेत्रका संरचना हटाउन यसअघि वडा कार्यालयले साउन १ गते ७ दिनको समयसिमा दिएर सूचना जारी गरेका थिए । सोही अनुसार नगरप्रमुख खरेल र वडा अध्यक्ष दुलालले बजार क्षेत्रका स्थानीयसंग समन्वयतात्मक बैठक बसेर घरटहरा हटाउन शुरु गरेका हुन् ।

सडक डिभिजन कार्यालय भक्तपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा तीनपिप्लेको मोड सुधार योजना राखेको छ । डिभिजन कार्यालयले असार २१ गते पाँचखाल नगरपालिकाको नाममा पत्र पठाउँदै उक्त बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घर टहरा हटाउन अनुरोध गरेको थियो ।

अरनिको राजमार्ग बनेको २५ वर्ष पुरा भैसकेको छ । विगत एक दशको बीचमा तीनपिप्ले बजार क्षेत्रमा मात्रै सडक दुर्घटनामा परी दर्जन बढीले ज्यान गुमाएका छन् । कयौँ घाइते भएका छन् । साँघुरो सडक र मोड एकै ठाउँमा भएकाले दुर्घटना निकै बढी हुँदै आएको छ ।

बजारको घरटहरा हटाउने कार्यको चौतर्फि स्वागत भएको छ । यसअघि नै गर्नुपर्ने काम ढिलै भएपनि शुरुवात भएको भन्दै अब दुर्घटना कम हुने अपेक्षा गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार यो क्षेत्रमा राजमार्गको सिमाना क्षेत्र अतिक्रमण गरी घर टहरा निर्माण गरेर स्थायी बसोबास एवं ब्यवसाय सञ्चालनमा थियो ।

2045
Shares

ट्रेन्डिङ