सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली जनता

खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली जनता

2795
Shares
खानेपानी समस्याबाट मुक्ति पाउँदै काभ्रेली जनता

काभ्रे । बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ ।

काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउनेछन् ।

गत वर्षको चैतसम्ममा तीनै नगरमा स्थानीयका घरघरमा चौबिसै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण केही समय लम्बिएको छ ।

तीन नगरका नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो ।

सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ । बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले केही महिनामा आयोजनाको काम पूर्णरुपमा सम्पन्न हुने बताए । “हामी प्राविधिक रुपमा समस्या देखिएका स्थानको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गर्दैछौँ, आयोजनाको काम छिट्टै सक्ने आयोजनामा छौँ”, उनले भने ।

उनका अनुसार ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि आयोजनाको काम लम्बिएको हो । ठेकेदारबाट निरन्तरण काम हुनसके चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने शाक्यको भनाइ छ ।

आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ ।

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै पनौतीको शारदादेवीस्थानमा पानी पुर्याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ ।

आयोजना सम्पन्न भएपछि तीन नगरमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जु बताउछन् ।

“अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदैछन्, यो निकै सुखद विषय हो”, उनले भने । उनका अनुसार यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको छ ।

उता पाँचखाल नगरमा सात हजार परिवारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ । आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको हो ।

परियोजनाको २०७६ साल भदौ १२ गते २०७९ पुस महिनाभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो ।

नगरको १३ मध्ये १० वटा वडाका लागि यस खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाई कन्काई जेभीसँग सम्झौता भएको थियो ।

आयोजना सम्झौताको सर्तानुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका थिए ।

हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत काम सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय लिटर पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ ।

यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ ।

दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ । काभे्रपलाञ्चोकमा सञ्चालित अर्को ठूलो तेमाल बृहत् खानेपानी आयोजनाद्वारा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्याइँदैछ ।

गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसक्दा आयोजना करिब एक वर्ष धकेलिएको छ ।

हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेको तथा अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको समितिले जनाएको छ ।

“आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने ।

प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्युखर्क र आधावाट, वडा नं ७ को चापखोरी र वडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्याइएको लामाले बताए ।

तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । साथै, रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उहाँले जानकारी दिए । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिका–७ का बासिन्दाले यस आयोजना खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजना खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको थियो ।

आयोजनाअन्र्तगत दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनेको छ ।

यसैगरी खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्याइँदैछ । लिफ्टिङ प्रविधिमार्फत खानेपानी उपलब्ध गराउन लागिएको उक्त आयोजनाको २०७८ असारमा निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल ७५ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए ।

आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने देखिएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ ।

गोरखा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।

यस्तै यही साउन दोस्रो साता जिल्लाको बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउमा पाँच सय परिवारलाई ‘एक घर एक धारा’ कार्यक्रममार्फत घरघरमै खानेपानी उपलब्ध गराइएको छ ।

महाङ्कालचौर खानेपानी तथा सरसफाइ र थिङछाप खानेपानी आयोजना सम्पन्न भएपछि करिब दुई हजार पाँच सय स्थानीयले घरमै खानेपानी पाएका हुन् ।

दुई आयोजना बेथानचोक गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को साझेदारीमा निर्माण सम्पन्न भएका हुन् ।

गत फागुनमा बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा समुदायमा हस्तान्तरण गरिएको भञ्जायाङखर्क खानेपानी आयोजनाबाट दुई सय २३ घरपरिवारका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

जिल्लामा हाल पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । केही भर्खरै सञ्चालनमा आएका र केही निर्माण अन्तिम चरणमा पुगेका सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला नै हुन् ।

नदी–खोला किनारमा ठूला इनार बनाई पानी सङ्कलन गर्ने र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीमा वितरण गर्ने गरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।

गोरखा भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला नै खानेपानीको स्रोत बनाइएको हो । प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माण भइरहेका छन् ।

हाल काभे्रपलाञ्चोकको पाँच ठूला खानेपानी आयोजनामध्ये तीन नगरका लागि सञ्चालित काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन ।

उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोल तथा बनेपाको शशीपानी खानेपानीको स्रोत हो ।

नमोबुद्ध नगरपालिकाको ७, ८ र ९ वडाका लागि थालिएको काशीखण्ड बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत रोशी खोला हो । उक्त खोलाबाट लिफ्टिङमार्फत छ दशमलव पाँच किलोमिटरको दूरीको डराउनेपोखरीस्थित तल्लो हटिया कालीकुवामाथि डाँडामा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोही ट्याङ्कीबाट खानेपानी वितरण हुने योजना बनाइएको हो ।

१८ करोड ४७ लाखमा सम्झौता भएको यस आयोजनामार्फत तीन वडाका एक हजार पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध गराइने योजना रहेको आयोजनाका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए ।

यस्तै १० वडाका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत इन्द्रावती नदी हो ।

भुम्लु गाउँपालिका–१० विमिरेस्थित उक्त नदी किनारमा इनार निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने भएको हो ।

त्यस्तै तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पु¥याइने उद्देश्यका साथ सात वर्षअघि भूकम्पपछि सुरु गरिएको तेमाल बृहत खानेपानी आयोजनाको खानेपानीको स्रोत सुनकोशी नदी हो ।

खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा खानेपानी पानी पु¥याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको हो ।

नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा पानी खसालिने योजना बनाइएको छ ।

यसअघि विभिन्न सङ्घसंस्थाबाट खानेपानी आयोजना निर्माण भएको र हाल सञ्चालित ठूला खानेपानी आयोजना पूर्णरुपमा सम्पन्न करिब ८० प्रतिशतका घरमा स्वच्छ खानेपानी पुग्ने आँकलन गरिएको छ ।

“करिब ८० प्रतिशतका घरमा खानेपानी पुगिसकेको छ, बाँकी रहेकाको अनुगमन निरीक्षण गरी योजना बनाइनेछ”, काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार केही आयोजना मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने सकिने पनि छन् । वर्षायाममा खानेपानी आयोजनाबाटै वितरित खानेपानी दूषित हुने हुँदा वर्षेनी समस्या हुुँदै आएको छ । अहिले काभ्रेपलाञ्चोकको ६० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको विभिन्न स्थानीय तहका खानेपानी आयोजनाका परीक्षण गर्दा करिब ६० प्रतिशत दूषित भएको पाइएको छ ।

परीक्षण गरिएका सबै खानेपानीमा दिशाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेडाईंले बताए । “जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ”, सेढाईंले भने । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ । खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।

दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भएपनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । रासस

2795
Shares

ट्रेन्डिङ