सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास

काभ्रेमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास

3330
Shares
काभ्रेमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको ठगीमा न्यायाधीशको लालमोहर, गरिबको उठीबास

काभ्रेपलाञ्चाेक : राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले जालझेल गरि एक परिवारको उठिबास लगाएका छन् । काभ्रे प्रहरीको अनुसन्धानले राष्ट्रिय अनुसन्धानका ति कर्मचारीले ठगी गरेको पुष्टि गरेपनि काभ्रे जिल्ला अदालतले भने राष्ट्रिय अनुसन्धानका कर्मचारीको जालसाजीपूर्ण ठगीलाई लालमोहर लगाइदिएको छ । जसका कारण एक दलित गरिब परिवारको उठिबास लागेको छ ।

काभ्रेको भुम्लु गाउँपालिका –९ का प्रवीन लामा राष्ट्रिय अनुसन्धान विभागका इन्फर्मर हुन, अर्थात सूचना संकलन गर्ने कर्मचारी हुन् । धुलिखेल क्षेत्रमा रजगज चलाइरहेका प्रवीनले धुलिखेल ८ का देवबहादुर मिजारको घर सहित ६० लाख बढी मूल्य पर्ने २ रोपनी जग्गा, जम्मा ५ हजारको रक्सीका भरमा आफ्नी श्रीमतीको नाममा ल्याएका छन् । जसका लागि उनले फर्जी कागजपत्र बनाउने देखि अदालतलाई झुक्याउन समेत सफल भएका छन् ।

धुलिखेल ८ का ६० वर्षीया देवबहादुर मिजार छोरा बुहारी कामको खोजीमा बाहिरिएपछि घरमा एक्लै बस्छन् । उनी बसिरहेको घर र त्यसको सेरोफेरो उनले २०७१ सालतिर १ लाख रुपैयाँ ऋण लिएबापत ललितपुरको टिकाथलीका जित गोविन्द महर्जनलाई धितो कायम हुने गरि राजीनामा गरेका थिए । जित गोविन्द महर्जनले ऋण चुक्ता गर्दाको दिन, घरजग्गा फिर्ता गरिदिने सम्झौता पत्र गरिदिएका थिए ।

श्रीमतीको मृत्यु पछि अधिकांश समय मदिराको सुरमा हुने उनलाई ३ वर्षअघि राष्ट्रिय अनुसन्धानमा कार्यरत प्रवीन लामा घरमै भेट्न पुगे । सरकारी जिम्मेवारी अनुसार शान्ति सुरक्षाको अवस्था बुझ्नुपर्ने प्रविनले देवबहादुरको घर जग्गा र ऋणीको बारेमा अनुसन्धान गरेर बसेका रहेछन् । घरमा एक्लै भएका देवबहादुरको घरजग्गा उनले ६० लाखमा किन्ने आशा देखाए ।

३ भाइ छोराहरूको समेत आर्थिक अवस्था राम्रो नभएको र आफू पनि बुढेसकालमा एक्लै भएपछि ६० लाखमा बेचेर आएको पैसा सबै छोराहरूलाई घरबास व्यवस्थापन गर भनेर दिने सोचेर देवबहादुर प्रवीन लामाको प्रस्तावमा सहमत भए । २०७१ सालमा देवबहादुरले जित गोविन्दलाई पास गरिदिएको जग्गा हडप्न प्रवीन लामाले जित गोविन्दलाई तिर्नु पर्ने पैसा पनि आफैले तिरिदिने भन्दै देवबहादुर मिजारलाई फकाए ।

प्रवीनले देवबहादुरलाई ५ हजार रुपैयाँ तत्कालै दिए र बाँकी ६० लाख रुपैयाँ जग्गा पास भएको ३५ दिन भित्र दिने भन्दै फकाए ।

ललितपुरको टिकाथलीका जित गोविन्द महर्जनलाई पनि प्रवीन लामाले नै फोन गरेर भेट्न पुगे । देवबहादुरको घरजग्गा आफैले किन्न लागेको भन्दै उनलाई ऋणको हरहिसाब गर्न लगाए । देवबहादुर मिजार सहित मालपोतका कर्मचारीलाई जित गोविन्दको घरमै लगेका प्रवीनले, जित गोविन्द महर्जनको नाममा रहेको देवबहादुरको जग्गा आफ्नी श्रीमती मुना बम्जन लामाका नाममा राजीनामा पास गराए ।

सिधाकुरासँग सम्पर्कमा आएका जित गोविन्द महर्जनले प्रवीनले ६० लाखमा देवबहादुर मिजारको जग्गा किनेको बताए । साथै जित गोविन्दको १ लाख रुपैयाँ ऋणको ६ लाख रुपैयाँ भुक्तानी समेत गरिदिएको जित गोविन्द बताउँछन् । जित गोविन्दले देवबहादुरका छोराहरू पनि ल्याउन भन्दा प्रवीनले ल्याउनु पर्दैन, सहमति भएको छ भनेका थिए ।

जग्गा हडप्न राष्ट्रिय अनुसन्धान विभागकाे परिचयपत्रकाे दुरुपयाेग

प्रवीन लामाले जित गोविन्दबाट जग्गा नामसारी गराउनुपूर्व घर बाटो सिफारिस लिन धुलिखेल वडा नं ८ मा पुगेका थिए । वडाले सम्बन्धित जग्गाधनीको उपस्थित बिनानै जित गोविन्दको नाममा प्रवीन लामालाई सिफारिस दिएको छ । प्रवीनले आफू राष्ट्रिय अनुसन्धान विभागको कर्मचारी भएको परिचयपत्र देखाएर वडाबाट सिफारिस लिएका छन् ।

वडाले नै उक्त जग्गाको कर योग्य मूल्य २ रोपनीको १२ लाख ८० हजार रुपैयाँ कायम गरिदिएको छ ।

वडाको सिफारिस पछि जित गोविन्दका नामबाट उक्त जग्गा प्रवीन लामाकी श्रीमती मुना बम्जन लामाका नाममा नामसारी भएको छ । तर जग्गाको मूल्य भने वडाको सिफारिस भन्दा बढी प्रति रोपनी ८ लाख ३२ हजार कायम गरि २ रोपनीको १६ लाख ६४ हजार रुपैयाँमा पास गरिएको छ । उनीहरूको जग्गाको कित्ता नं १२७२ र १२९३ हो ।

जग्गा कारोबार भएको ३५ दिनसम्म देवबहादुर मिजारले प्रवीन लामाको बाटो कुरे । तर जग्गा पास गर्नु पूर्व रक्सी खानुस् भन्दै ५ हजार दिएका प्रवीनले ६० लाख नदिइ बेपत्ता भए । त्यसपछिमात्र देवबहादुरले छोरा बुहारीलाई उक्त विषय बताए ।

उक्त घटना विवरण थाहा पाएपछि देवबहादुरकी बुहारी कविता मिजार अत्तालिदै मालपोत कार्यालय पुगेर कागजपत्र खोजिन् । गरिब दलित परिवारका उनीहरुकाे सम्पत्ति भनेकै घरबारी थियो । तर उक्त जग्गा प्रवीन लामाको श्रीमतीको नाममा राजिनामा पास भैसकेको देखियो ।

त्यसपछ‍ि उनले धुलीखेल वडा नं ८, नगरपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै काभ्रे प्रहरीसम्म पुगिन् । सबैको ठहर प्रवीन लामाले जालसाजी गरेर ठगी गरेको भन्नेमा थियाे। त्यस्तै जिल्ला प्रहरी कार्यालयले प्रवीन लामालाई एक दिन थुनामा समेत राखेर अनुसन्धान गर्यो । जित गोविन्द महर्जनलाई समेत प्रहरीले पक्राउ गरी कागज गरायो । काभ्रे जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक दिलिप कुमार थापाका अनुसार प्रवीनले विभिन्न प्रलोभन देखाएर देवबहादुर मिजारकाे जग्गा जमिन ठगी गरेको देखिएकाे छ ।

साेही ठहरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहितको रोहबरमा प्रवीनले आफ्नो गल्ती स्वीकार मात्र गरेरनन् जग्गा फिर्ता गरिदिने सहमति समेत गरे । तर उनले आफूले जितबहादुरलाई ६ लाख रुपैयाँ दिएको र ३ लाख ६४ हजार कागजपत्र मिलाउँदा खर्च भएको भन्दै ९ लाख ६४ हजार रुपैयाँ दिनु पर्ने सर्त राखे ।

सर्तअनुरुप नै कविता मिजारले प्रवीनलाई करिब १० लाख रुपैयाँ फिर्ता गर्न दुई कित्ता मध्ये एक कित्ता जग्गा स्थानीय रविन्द्र जङ्गमलाई पास गरिदिने सर्तमा ऋण लिइन् । ८ लाख ६४ हजार पास नगर्दै दिइन् भने १ लाखको चेक दिइन् ।

प्रवीन लामाले जालसाजी गरेर श्रीमती मुना बम्जन लामाको नाममा भएको जग्गा देवबहादुर मिजार र उनको परिवारको नाममा राजिनामा नै गरेर फिर्ता गरे ।

एक रोपनी देवबहादुर मिजार र उनका परिवारको नाममा आयो भने एक रोपनी, जग्गा फिर्ता गर्न ऋण दिएका रविन्द्र जङ्गमको नाममा फिर्ता भयो ।

जिल्ला प्रहरी कार्यालयमा गल्ति स्वीकार गरेर जग्गा फिर्ता गरेका प्रवीन लामाले फेरी अर्को कानुनी चातुर्य देखाउन खोजे । प्रहरीले अनुसन्धान गरेर ठगी भएको भनिसकेको विषयमा प्रवीन लामा कानुनको छिद्र प्रयोग गर्दै अदालत पुगे।

उनले देवबहादुर मिजारको जग्गा कित्ता न १२७२ र १२९३ का सम्बन्धमा काभ्रे जिल्ला अदालतमा २ वटा लिखत बदर र एउटा अंश दाबीको मुद्दा हाले । त्यो पनि एकै दिन २०७९ साउन १६ गते ।

उनले श्रीमतीको नाममा भएको जग्गा परिवारमा जानकारी नै नदिई बेचबिखन गरेको भन्दै राजिनामाको लिखत बदरका लागि श्रीमती र देवबहादुर मिजारलाई प्रतिवादी बनाएर मुद्दा हाले । यस्तै छोराछोरी सहित आफ्नो अंश दाबी गर्दै श्रीमती विरुद्ध अंश चलान मुद्दा दर्ता गराए ।

त्यति मात्रै होइन, श्रीमती एक वर्षदेखि माइती बस्दै आएको, छोराछोरीको हेरचाह नगर्ने भन्दै अदालतमा अंश दाबी गरेका थिए । सोही मुद्दाको प्रमाण पेश गर्न भुम्लु गाउँपालिका झुटो विवरण सहितको पत्र काभ्रे जिल्ला अदालतमा पठाउन लगाए । जबकी अहिले पनि प्रवीन र उनकी श्रीमती सँगै बस्छन् । छोराछोरीसँगै छन् ।

राष्ट्रिय अनुसन्धानका इन्फर्मर प्रवीनको मास्टर प्लानमा काभ्रे जिल्ला अदालतले थप कागजपत्र नै झिकाएनन् ।अन्तत उनले जे खोजेका थिए सोही अनुसार फैसला आयो ।

प्रहरीको अनुसन्धानमा प्रवीन लामाले देवबहादुर मिजारलाई ठगी गरेको देखियो थियो तर काभ्रे जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईले भने प्रवीन लामाको ठगीलाई सदर गरिदिए । अर्थात प्रवीनले ठगी गरेर श्रीमती मुना बम्जनको नाममा लुकाएका जमिनलाई अदालतले भागबन्डा मात्रै गरेन, ठगी स्वीकार गरेर फिर्ता गरेको लिखतलाई समेत बदर गरिदियो । अदालतले मुना घरको मुख्य मान्छे नभएको र जग्गा बिक्री गर्दा परिवारका सदस्यको सहमति बेगर बिक्री गर्ने काम गैर कानुनी भएको फैसला गर्याे ।

न्यायाधीश भट्टराईले कित्ता न १२९३ को जग्गा ४ भागको ३ भाग बिक्रीको लिखत बदर भई बादीहरूकाे नाममा दर्ता हुने फैसला गरे । अर्थात मुना बम्जनको भागको बिक्री मात्रै सदर हुने तर प्रवीन लामा र उनका दुई छोराछोरीको भागमा पर्ने जग्गा बिक्री नभई उनीहरूकै नाममा हुनुपर्ने ठहर गरे ।

जबकी प्रवीन लामाले श्रीमतीको नाममा जग्गा खरिद गर्दा आफ्नो कमाई समेत लगानी गरेको भनी दाबी गरेपनि खरिद गर्दा पैसा दिएको भने कुनै प्रमाण पेश गरेका थिएनन् । न त उनले बैक स्टेटमेन्ट पेश गरेका थिए, न जित गोविन्दलाई दिएको पैसाको कागज पत्र पेश गरेका थिए । किनकी वडाले १२ लाख ८० हजार मूल्य कायम गरेको जग्गा मालपोतमा १६ लाख ६४ हजारमा किनबेच गरेका थिए भने जित गोविन्दलाई जम्मा ६ लाख मात्रै दिएका थिए ।

त्यस्तै अदालतले प्रवीन लामाकी श्रीमतीलाई जग्गा बिक्री गर्ने जित गोविन्दको बारेमा सोधखोज समेत गरेनन् । जबकी जिल्ला प्रहरी कार्यालयमा जित गोविन्दले आफैले प्रवीन लामाबाट ६ लाख रुपैयाँ बुझेको, उक्त जग्गा वास्तविक जग्गा धनी देवबहादुर मिजारलाई साँची राखेर डोर पुगेका मालपोतका कर्मचारी मार्फत पास गरेको कागज गरेका थिए ।

न्यायाधीश भट्टराईको फैसलाले देवबहादुर मिजारलाई ५ हजारको रक्सी खुवाएर ६० लाख मूल्यको जग्गा हत्याएका प्रवीन लामाको जालसाजीलाई सदर गरिदिएकाे छ।

त्यस्तै प्रवीन लामालाई ८ लाख रुपैयाँ दिनका लागि रविन्द्र जङ्गमका नाममा पुर्याएको जमिनको लिखत समेत बदर गरि ४ भागको ३ भाग प्रवीन लामा र उनका दुई छोराछोरीको नाममा समेत हुने फैसला गरिदिए ।

जसका कारण अहिले देवबहादुर मिजारको नाममा २ रोपनी जमिनको १ भाग मात्रै फिर्ता आएको छ ।

यस्तै प्रवीन लामाले नै दायर गरेको अंश चलन मुद्दाको फैसलाका अनुसार पनि मिजार परिवारबाट खोसिएको जग्गा मुना बम्जन लामाले लिएको सहकारीको ऋण तिर्न बाटो खुलेको छ ।

बम्जनले राजिनामा नै गरि फिर्ता गरेको जमिनको लिखत बदर भएपछि सबै सम्पत्तिलाई ४ भाग लगाई सहकारी ऋण तिर्न भनिएको छ ।

अदालतले मुना बम्जनको कित्ता नं ३०७५ र ३०७२ लाई भागबन्डा गरिदिएपनि मिजार परिवारबाट आएको जमिनको बन्डा भने गरिदिएको छैन । तर सबै सम्पत्ति बन्डा गरी सहकारी ऋण तिर्न भनेको छ । जसका कारण देवबहादुर मिजारलाई झुक्याएर प्रवीन लामाले हत्याएको कित्ता नं १२७२ र १२९३ को जमिन समेत सहकारीको ऋण तिर्न प्रयोग हुने देखिन्छ ।

उसो त सहकारीले मुना बम्जनलाई ऋण दिदा भने ३०७५ र ३०७२ नं कित्ताको जग्गा धितो राखेको मालपोतको विवरणमा देखिन्छ ।

राष्ट्रिय अनुसन्धानका कर्मचारी प्रवीन लामाको बेइमानीलाई जिल्ला अदालत काभ्रेका न्यायाधीश मोहनराज भट्टराईको फैसलाले सदर गरिदिएको छ । अदालतको फैसलाका कारण जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूले फिर्ता गराइदिएको मिजारको घर जग्गा समेत फेरी ठग प्रवीन लामाकै भएको छ । सम्पत्तिको नाममा २ कित्ता जमिन भएका मिजार परिवारको उठिबास लागेको छ ।

साभार :सिधाकुरा

3330
Shares

ट्रेन्डिङ