सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रे आउदा आफ्नो घर आएजस्तै महसुस हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काभ्रे आउदा आफ्नो घर आएजस्तै महसुस हुन्छ : प्रधानमन्त्री प्रचण्ड

905
Shares
काभ्रे आउदा आफ्नो घर आएजस्तै महसुस हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काभ्रे । आज बुधबार काभ्रे आएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घर आएजस्तै महसुस भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयले उच्च शिक्षाको लागि जुन निती र पद्धती अपनायो त्यसले अरु विश्वविद्यालयलाई पनि पेरित गर्ने , नेपाली शिक्षाको अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने “काठमाडौं विश्वविद्यालयले उच्च शिक्षा कोलागि जुन निती र पद्धती अपनायो त्यसले अरु विश्वविद्यालयलाई पनि पेरित गर्नेछ । काठमाडौं विश्वविद्यालयले वतावरण शिक्षा र जलवायु परिवर्तनको विषयमा उठाएको कुरा एकदमै सराणीय छ ।

यस्तो छ कार्यक्रममा उनको सम्बोधनको पूर्णपाठ :

काठमाडौं विश्वविद्यालयमा मङ्सिर महिनामै दोस्रोपटक आउँदै गर्दा उपकुलपतिज्यूले आफ्नो सम्बोधनमा भनेझैं मलाई पनि आफ्नै घर आएजस्तो महसुस भइरहेको छ । अघिल्लोपटक म मङ्सिर ८ गते यहाँ विशिष्ट सम्मेलनमा सहभागी भएको थिएँ, जहाँ नेपालभरका दुई दर्जन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीहरूको बृहत् उपस्थितिमा नेपालको उच्च शिक्षाको सुदृढीकरण र अन्तर्राष्ट्रियकरणका विषयमा गहन छलफल भएको थियो । नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्तनका लागि त्यो राम्रो अवसर थियो ।

काठमाडौं विश्वविद्यालयले यस्तो अभियानको नेतृत्व लिएर जसरी उच्च शिक्षा सुधारका लागि नीतिगत र व्यावहारिक छलफलको अवसर जुटायो, त्यसबाट उच्च शिक्षाको अबको बाटो तय गर्न विश्वविद्यालयहरूलाई मात्र नभएर नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास मैले लिएको छु । त्यस सम्मेलनमा उठाइएको नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई मैले गम्भीरतापूर्वक लिएको छु । आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ । त्यस सम्मेलनबाट आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हरसम्भव प्रयास हुनेछ ।

माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री त्यस सम्मेलनमा र आज पनि उपस्थित हुनुभएको हुँदा उहाँले यी विषयलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजान ठोस कदम चाल्नुहुनेछ । उपकुलपति प्राध्यापक भोला थापाज्यूले नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण र नेपाली विद्यार्थीलाई नेपालमा नै रोजगारी तथा उच्च शिक्षाको अवसर दिलाएर युवा ऊर्जा र सिर्जनशीलतालाई मुलुकभित्रै राख्नका लागि जुन खाका पेस गर्नुभएको छ, त्यो मलाई सराहनीय लागेको छ । प्राध्यापक थापाले भनेजस्तै दुबईमा आज समापन हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको उपस्थिति गहन र बलियो रह्यो । त्यहाँ मैले जलवायु, न्याय र क्षतिपूर्तिको विषयलाई गम्भीरतापूर्वक उठाएको छु । नेपालको यो प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुटेरेसको विशेष साथ र समर्थनबाट पनि पुष्टि हुन्छ । मलाई अझ खुसी के कुरामा लाग्छ भने काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहनुभएका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ ।

कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण (इनर्जी ट्रान्जिसन) मा यस विश्वविद्यालयले हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल हुनुभएको छ । त्यसले बृहत् रूपमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाएको छ । त्यसका लागि म विश्वविद्यालय परिवारलाई धन्यवाद तथा बधाई दिन चाहन्छु । विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न, विशेषतः स्थानीय समुदायहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न एवम् नेपालका तर्फबाट हाम्रा खास मुद्दा र चासोहरूलाई मुखरित पारिरहन म विश्वविद्यालयका प्राध्यापक तथा अध्येताहरूलाई यस विश्वविद्यालयको कुलपतिको हैसियतले विशेष आग्रह पनि गर्दछु ।

काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय छ । यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ । त्यसैले नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न समेत म अनुरोध गर्दछु ।

काठमाडौं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको सर्वविदित नै छ । तर पछिल्ला दशकमा विश्वविद्यालयले जसरी बहुमुखी रूपमा आफ्नो प्राज्ञिक दायरा विस्तार गरेको छ, त्यसबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको छ । त्यसैको एक उदाहरण चिकित्सा र कलाको सुन्दर संयोजनमार्फत सुरु भएको ब्याचलर इन योगिक साइन्स एन्ड वेलबिइङ कार्यक्रम हो । यो कार्यक्रम नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरणको एक कडी पनि हो । अझ पछिल्लो समय काठमाडौं विश्वविद्यालयले एक हजार शैयाको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ ।

काठमाडौं विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु । स्थापनाको ३२ औं वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ । यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु । विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु । म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौं विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु । काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका छन् । भविष्यमा पनि थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रमहरू लागू गर्न म विश्वविद्यालय परिवारलाई अनुरोध गर्दछु ।

नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ । आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो ।

अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ । आज दीक्षित हुने विद्यार्थीलाई म विशेष अनुरोध गर्न चाहन्छु — तपाईंहरू यहाँ आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न गर्नुहोस् । काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश जानुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न अनुरोध गर्दछु ।

अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।

अन्त्यमा, आज दीक्षित हुनुभएका सबै विद्यार्थीलाई बधाई दिँदै र उहाँहरूलाई गुणस्तरीय शिक्षा दिन अभिभावक र विश्वविद्यालयले गरेको योगदान र परिश्रमको उच्च कदर गर्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु । धन्यवाद !

905
Shares

ट्रेन्डिङ