सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • रुसी सेनामा नेपाली फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

रुसी सेनामा नेपाली फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

900
Shares
रुसी सेनामा नेपाली फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

काठमाडौँ  । रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ ।

नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन ।

दोस्रो पटक मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए ।

नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो ।

तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । 

रुस र युक्रेनबीच १७ सय किलोमिटरको सिमानामा युद्ध भइरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

900
Shares

ट्रेन्डिङ