सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • युद्धमा मारिएका नेपालीको परिवारलाई दूतावासमार्फत राहत दिन रुस तयार

युद्धमा मारिएका नेपालीको परिवारलाई दूतावासमार्फत राहत दिन रुस तयार

495
Shares
युद्धमा मारिएका नेपालीको परिवारलाई दूतावासमार्फत राहत दिन रुस तयार

काठमाडौं ।  फौजमा भर्ती भएर युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको छ ।

रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिइने छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुस–युक्रेन युद्धमा रहेका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा एउटा सफलता हात लागेको बताएका छन् । अरु देशमा ज्यान गुमाउने नेपालीको परिवारलाई पनि सम्बन्धित देशका नेपाली दूतावासमार्फत नै राहत दिने गरिएको जानकारी गराएपछि रुस पनि तयार भएको प्रवक्ता राईले बताए ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।

यद्यपि, राहत रकम कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त आदेशमा युक्रेनमा रसियाका लागि लड्ने विदेशी नागरिक र तिनका परिवारलाई नागरिकता प्रदान गर्ने भनिएको छ ।

495
Shares

ट्रेन्डिङ