सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !

भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !

4080
Shares
भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !

जेठ २६, काठमाडौं । स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा छ । महानगरको मतपरिणामलाई प्रमुख तीन दलले प्रतिष्ठाकै विषय बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनपूर्व र मतदानपछि पनि भरतपुर राष्ट्रिय राजनीतिको केन्द्रमा नै छ । सडक र सदन मात्र होइन न्यायालयमा समेत यसको बाछिटा पुगेको छ । मतपरिणामको उत्सुकतासँगै गणनाका क्रममा दलहरूले गर्ने लफडाले पनि भरतपुरले सबैको ध्यान तान्यो । झन् गणनाका क्रममा मतपत्र च्यातिएपछि त यो विषय संसद् र न्यायालयसम्म पुग्यो ।
अहिले मतपत्रको सुरक्षाको विषयले चर्चा पाएको छ । ठूलो संख्यामा प्रहरी त परिचालन गरिएकै छन् । साथै, दलका प्रतिनिधि पनि गणनास्थल परिसरमा खटिएकै छन् । तर, त्यतिले मात्र मतपत्रको सुरक्षा हुने अवस्था रहेन । मतपत्रको सुरक्षाका लागि बिरालो खटाइएको छ । कभर्डहलभित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ । महानगरको मतगणना भएको कभर्डहल भवनबाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर, भवनभित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालाले सहयोग गरिरहेको छ ।
मतपत्र गणना गर्ने क्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ । २९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गणना गर्दा गणक बसेका कपडालगायतका सामग्री हलभित्र छन् । मतपत्र च्यातिएपछि स्थागित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गणना गर्न एक दिन एकैछिनका लागि खोलिए पनि भवन खुला भएको छैन । भवनको मूल गेटमा ताला लगाइएको छ ।
भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका छन् । खुला भवनवरपर खुला चौर र वर्षात्को समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ । मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हलभित्र जाने आउने वातावरण बनाइएको छ ।
बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । बिरालाले मुसा आउन नदिएपछि ढुक्क भएको उनको भनाइ छ । गणनास्थलनजिकै रहेको होटलमा रहेका बिरालालाई मतपत्र भएको हलभित्र जाने वातावरण बनाएको उनले बताए । दलका प्रतिनिधिहरू पनि रातको समयमा मतपत्र सुरक्षाका लागि कभर्डहलबाहिर बस्ने गरेका छन् । गत १४ जेठको राति भरतपुर–१९ को मतपत्र च्यातिएपछि भरतपुर–१९ र २० को गणना हुन बाँकी मत सुरक्षित राखिएको छ । निर्वाचन आयोगले मतदान गर्ने निर्णय दिएको र सर्वोच्च अदालते २८ जेठसम्म रोक्न अन्तरकालीन आदेश दिएको छ । भरतपुर महानगरमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुख पदमा रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली उम्मेदवार छन् ।
– राजधानी दैनिक

4080
Shares

ट्रेन्डिङ