सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

अन्टी, तपाईलाई के सरोकार ?

10455
Shares
अन्टी, तपाईलाई के सरोकार ?
  • अनुप्रिया जि.सी

केही दिन अगाडि म एउटा विवाहमा गए कि थिएँ, प्रेम विवाह त्यसमाथि अन्तर जातिय, बेहुला बेहुली आफ्नो प्रेमले विहेको रुप लिएको र अब प्रेमी प्रेमिका नभएर श्रीमान श्रीमती हुने कुराले खुसी देखिन्थे l

भर्खरका जोडी, एक आपसमा वर्षौ देखि चिनजान भएका, जगियामा मुस्कुराई रहेका थिए । त्यतिकैमा ५०/५१ वर्ष की महिलाले ” कति उत्ताउली दुलही, हेर कसरी मस्के की हाम्रो पालामा रुँदै पोईको घर पुगिन्थ्यो “भनिन् , अर्की ले ” बाउ, दाईको लाज नै छैन आजभोलि आफै पोई रोज्यो । बिहे नगर्दिए पोइला जालान् भन्ने डर” भन्दैथिन्, यत्तिकैमा ज्ञानी पन्णितले पनि थपे । ” अस्ती एउटा बिहेमा जुठो खाने बेलामा रमित नै गरे केटाकेटी ले, कति छिल्लिएका ” अब यहि महिलाहरु दुर्भाग्यवस मेरा नी आफन्त पर्ने रहेछन् । यसको अर्थ मेरो विवाहमा नि आउनेछन् र त्यसको अर्थ म, मेरो, आफ्नै विवाहमा नी हाँस्न पाउने छैन, मेरो जगियामा भएको हुनेवाला श्रीमान् सँग आँखा जुधाएर पनि बोल्न पाऊने छैन ।

अब यता सुन्नुहोस्, सम्भवतः बिहे एकै चोटी गरिन्छ ( एक भन्दा बढि पनि गर्न पाईयो, पाऊन त) र त्यो दिन मेरो जिन्दगीको केही खुसीका पल मध्ये एक हो । म जसरी हाँस्न मन लाग्छ हाँस्छु, मलाई जे खाना मन लाग्छ खान्छु, मलाई रातो होईन कालो सारी लगाएर जगियामा बस्न मन छ भने म त्यो पनि गर्छु मलाई कालो कोट लगाएर बिहे गर्न मन भए म त्यो पनि लगाउछु , मलाई अन्तर जातिय बिहे गर्न मन छ भने म त्यही गर्छु ।

किन कि त्यो मेरो बिहे हो, तपाईले तपाईको बिहेमा के लगाउनु भयो, कसरी बोल्नु भयो, कति लजाउनु भयो, तपाईको श्रीमानलाई विवाह पहिला भेट्नु भयो कि बिहेको भोलीपल्ट भेट्नु भयो, यो सबै कुरा सँग मेरो के सरोकार छ?
तपाईको छोरीको बिहेमा कति जन्ती ले खाए या कति माइती पक्ष आए भन्ने कुरा सँग मेरो के सरोकार ?

तपाईको छोरीको बिहेमा कति सोफा, दराज गयो कि बुहारीका बाबाले घर नै धितो राखेर कार दिए भन्ने कुरा सँग मेरो के सरोकार?
तपाईको छोरो ले कति तोलाको रानी हार दियो अथवा तपाईको सम्धिनी फुकाउँदा कत्रो छड्के तिलहरी आयो सँग मेरो के सरोकार?
तपाईले ज्वाइं, आफैले खोज्नु भयो कि तपाईको छोराले आफै ३६ गुण सम्पन्न बुहारी रोज्नु भयो सँग मेरो के सरोकार?
तपाईको छोरी हनिमुनका लागि पोखरा गईन कि तपाईका पि.आर ज्वाईंले उतै लग्नु भयो सँग मेरो के सरोकार??
र मेरो श्रीमान कस्तो छ, कालो छ कि गोरो छ?

धनि छ कि गरीब छ?
कार चड्छ कि लोकल बस चड्छ?
मेरो ससुराको जागिर छ की व्यापार छ?
मेरो पोई ईन्जिनियर हो कि डाक्टर हो कि कन्- डक्टर?
मेरो पोई को काठमाडौंमा चार वाट तीन तल्ले घर छ कि गाउँमा घर को छानो चुहिन्छ?
म बिहे पछि नेपाल बस्छु की विदेश जान्छु?
म बिहे भएको कति महिनामा छोरा पाऊँछु??
हजुरलाई के सरोकार अन्टी?

मेरो जिन्दगी हो, मेरो बिहे हो मलाई जसरी खुसी लाग्छ म त्यसरी गर्छु, जोसँग खुशि लाग्छ त्यहीसँग गर्छु,
मेरो स्कूलको फि तिर्ने बेला तपाईले आफ्ना गहन बेच्नु भएन मेरी आमाले बेचीन्
म टुर जान्छु भनेर रुँदा मेरा बाबाले ओभर- टाईम गरे तपाईको पोई ले होईन,
म मुहार भोरी जितको अविर र हातमा अवर्ड लिएर आउँदा मेरा बाबाले खुसीको आँशु झार्थे , तपाईले होईन्
मैले कलेज टप गर्दा मेरी आमा दुई हात जोडेर भगवान सम्झन्थिन् तपाईले होईन्।

म समयमा घर न आउँदा मेरो भाई खोज्न जान्थ्यो तपाईको छोरो होईन।
यदि मेरो परिवार खुशी छ मेरो विवाहमा भनी अब भन्नुहोस् तपाईले के सोच्नु होला । तपाईको चित्ता दुख्ला भनेर मैले किन सोच्ने??
सक्नु हुन्छ आउनुस्, हसिलो मुहार लिएर मेरो बैबाहिक जिवनको शुभ कामना दिएर । मासु पुलाव खाएर जानुस् ।

होईन भने अनुहारमा कालो बादल देखिने गरी मेरो बिहेमा सरिक नहुनुहोस्, कति धेरै पिरो रहिछ मासु नी भन्दै मासु थपेर पनि खानु पर्दैन्
म जगियाबाट उठेर यो सबै भन्ने फुर्सदमा हुँदिन सायद त्यसैले अहिले भनेको कुरालाई गम्भीरता पुर्वक मनन् गरेर मेरो कुनै दिन लगन जुरेमा हुने सम्भावना रहेको बिहेमा पाल्नुहोला ।

उहि तपाईहरुको आफ्नै
छोरी/ भान्जी/ नातिनी/ दिदि/बहिनी ( वा जे सुकै नाता पर्ने होस्)
अनुप्रिया जि.सी

लेखक अनुप्रिया जि.सी नेपाल ल क्याम्पस मा BALLB आठौं सेमेस्टर मा अध्यनरत छात्रा हुन ।

 

 

 

10455
Shares

ट्रेन्डिङ