सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा मानवअधिकार जिल्ला समन्वय समिति गठन

काभ्रेमा मानवअधिकार जिल्ला समन्वय समिति गठन

5065
Shares
काभ्रेमा मानवअधिकार जिल्ला समन्वय समिति गठन

काभ्रेपलाञ्चोक, १४ साउन : काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो समिति बनाउने काभ्रेपलाञ्चोक पहिलो भएको जनाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेलका अनुसार अन्य जिल्लामा क्रमशः मानवअधिकार जिल्ला समन्वय समिति गठन गर्दै गइनेछ ।

समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम रहनुभएको छ । यस्तै समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सदस्य रहन्छन् ।

यस समितिमा मानवअधिकारका क्षेत्रमा काम गर्ने अन्य पाँच संस्थाका प्रतिनिधिलाई सदस्यमा मनोनीत गरिने जिसस प्रमुख गौतमले जानकारी दिनुभयो । “जिल्लामा मानवअधिकारको अवस्था सुधार गर्न सबै पक्ष लाग्नुपर्छ, मानवअधिकार एउटा मात्रै पक्षलाई लागू हुने र पूरा हुने विषय नभएकाले संविधानमा व्यवस्था गरिएका अधिकार कार्यान्वयन गर्न सबै जनप्रतिनिधि लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

आयोगका सदस्य डाक्टर सूर्यप्रसाद शर्माले समितिले मानवअधिकारका विषयलाई स्थानीय तहले गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । “अब स्थानीय तहले मानवअधिकारसँगै दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य पूरा गर्ने काममासमेत स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

यस्तै यही साउन २ गते काभ्रेपलाञ्चोकमा अपराध रोकथाम तथा विकृति–विसङ्गतीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा गठित समितिले सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नेछ । समितिले समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी तथा सरोकारवाला निकायबीच संस्थागत साझेदारी गर्दै अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्दै लगिने जनाएको छ । रासस

5065
Shares

ट्रेन्डिङ