सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको खानीखोलामा पहरा फाेर्ने डोजर अपरेटरलाई पैसाको माला

काभ्रेको खानीखोलामा पहरा फाेर्ने डोजर अपरेटरलाई पैसाको माला

5635
Shares
काभ्रेको खानीखोलामा पहरा फाेर्ने डोजर अपरेटरलाई पैसाको माला

काभ्रेपलाञ्चोक जिल्लाको अति विकट खानी खोला गाउँपालिका वडा नम्बर ५ स्यार्ते जन्तेका स्थानीयले सडकको ट्याक खोल्ने डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान गरेका छन् ।

स्यार्ते जन्तेको ट्याक खोलेको खुशीयलीमा स्थानीयले डोजर अपरेटरलाई पैसाको माला लगाएर सम्मान गरेका हुन् । यो सडक खानीखोला करिडोर अन्तर्गतको हो । यो करिडोर अन्तर्गत सडकको कुल लम्बाई २१ किलो मिटर रहेको छ । अब जम्मा ४/५ किलो मिटर मात्रै ट्याक खोल्न बाँकी रहेको पालिका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङले जानकारी दिनुभयो ।

जसमा १ किलो मिटर स्यार्ते जन्तेमा निकै अप्ठ्यारो क्षेत्र थियो । सोही अप्ठ्यारो क्षेत्रमा ट्याक खोलेबाट स्थानीयले अपरेटरलाई माला लगाएर सम्मान गरेका हुन् । ‘ जुन पैसाको माला लगाएको फोटो सार्वजनिक भयो ।

त्यो त्यहाँका स्थानीयले खुशियाली स्वरुप गरेको सम्मान हो । खानीखोला करिडोर अन्तर्गत त्यो निकै अप्ठ्यारो भूभाग थियो । त्यही भूभागमा ट्याक खोलिएको हो । जम्मा जम्मी १ किलो मिटरको ट्याक होला । तर निकै अप्ठ्यारो ठाउँ थियो ।’ पालिका अध्यक्ष छिन्ताङले भन्नुभयो ।

यो प्रदेश सरकारको बजेटबाट खनिएको सडक हो । करिडोर निर्माण पश्चात वडा नम्बर १, २, ५ र ६ का स्थानीयलाई सहज हुनेछ । अप्ठ्यारो क्षेत्रमा ट्याक खुलेसंगै अन्य भागमा सडक विस्तार गर्न सजिलो हुने भएको छ ।

स्थानीयसंग ट्याक खुलेको खुशी साट्न गाउँपालिका अध्यक्ष छिन्ताङ, १ नम्बरका वडा अध्यक्ष सन्तमान थिङ, ३ नम्बरका वडा अध्यक्ष सागर लामा, ५ नम्बरका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान र ६ नम्बरको वडा अध्यक्ष बृहस्पति घिसिङ पुग्नुभएको थियो ।

5635
Shares

ट्रेन्डिङ