सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नमोबुद्ध नगरको नीति तथा कार्यक्रम र बजेट पारित

नमोबुद्ध नगरको नीति तथा कार्यक्रम र बजेट पारित

3005
Shares
नमोबुद्ध नगरको नीति तथा कार्यक्रम र बजेट पारित

काभ्रे : नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

पहिलो बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम, नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको थियो ।

सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बनेको विनियोजन विधेयक पनि सर्वसम्मतीले पारित गरेको छ ।

न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन र प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन पनि सर्वसम्मतीले पारित भएको छ ।

नगर सभाले विभिन्न मितिमा भएका कार्यपालिका बैठकको निर्णयहरु पनि अनुमोदन गरेको छ । सभाले दोश्रो नगरसभाको तेश्रो अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबै जनप्रतिनिधिहरु, नगर सभा सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी, संघीय सरकार, बागमती प्रदेश सरकार, प्रतिनिधि सभा सदस्य, बागमती प्रदेश सभा सदस्य, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायी, प्राज्ञिक व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरु तथा सम्पूर्ण नगरवासीमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

3005
Shares

ट्रेन्डिङ