सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पाँचखालमा फेलोसिपको पहिलो संस्करण सम्पन्न

पाँचखालमा फेलोसिपको पहिलो संस्करण सम्पन्न

2970
Shares
पाँचखालमा फेलोसिपको पहिलो संस्करण सम्पन्न

काभ्रे / पाँचखाल नगरपालिका र किङ्स कलेजको संयुक्त आयोजनामा सुरु भएको कम्युनिभर्सिटी समर प्रोग्राम यही साउन ३२ गते सम्पन्न भएको छ । यही असार ३ गतेदेखि २ महिनासम्म पाँचखालस्थित सर्वमंगला बहुमुखी क्याम्पसमा सन्चालित फेलोसिपको दीक्षान्त समारोह पाँचखाल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीहरूको सिकाइलाई समाज र सिप उन्मुख बनाउने उद्देश्यले सुरु भएको यस फेलोसिपमा पाँचखाल नगरपालिकाका १२ र अन्य जिल्लाका ७ गरी जम्मा १९ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीहरू कक्षा १२ वा सो सरहका परीक्षा दिएका र स्नातक अध्ययन गर्दै गरेका थिए।

फिनल्याण्डस्थित कयानी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस र अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीले स्वीकृत गरेको यस अन्तर-संकाय कोर्स डाटा साइन्स, उद्यमशीलता र समाजशास्त्रको सेरोफेरोमा डिजाइन गरिएको हो। यस कोर्स डिजाइन र कार्यान्वयनमा राष्ट्रिय वाणिज्य बैंक, एफ वान सफ्ट, फुडमान्डु, कारखाना र काठमान्डौ अर्ग्यानिक्स उद्योग साझेदारका रूपमा सहभागी थिए।

पाँचखालको खरेलथोक स्थित भगवती माध्यमिक विद्यालयबाट अगिल्लो शैक्षिक सत्रमा कक्षा १२ को परीक्षा दिएर बसेकी छात्रा मोनिका लामाले आफ्ना प्रधानाध्यापकले भनेपछि यस कलर्सको आवेदन भरेकी थिइन्। छनोेट भएर यस कोर्स सम्पन्न हुँदा उनलाई उत्कृष्ट मार्कसिट प्राप्त गर्नु मात्र सिकाइ होइन, पढेको कुरालाई व्यवहारमा उतार्न सक्नु पर्ने रहेछ भन्ने लागेको छ। दुई महिनाको अनुभूति सुनाउँदै उनी भन्छिन्, “साथीहरूसँग मिलेर गरेको काम र त्यसबाट प्राप्त ज्ञान सबैभन्दा ठूलो धन रहेछ।”

काठमान्डौंका विद्यालयका सौरभ काफ्ले डर, द्वन्द्व र उत्साहसँगै यस फेलोसिपमा सहभागी भएका थिए। उनलाई यस कार्यक्रमले आफूलाई समुदायको नजिक ल्याएको अनुभव भएको छ। उनलाई लाग्दछ, समुदाय र उद्योगका विभिन्न व्यक्तिहरूसँगको अन्तरक्रियाले समाज हेर्ने आफ्नो दायर फराकिलो भएको छ। किङग्स कलेजबाट विद्यार्थीहरूको मेन्टर र सहजकर्ताको रूपमा दुई महिना विद्यार्थीसँगै पाँचखालमा रहेकी भावना श्रेष्ठ समुदाय, उद्योग र एकेडेमिया बीचको साझेदारी शिक्षाको लागि अत्याधिक लाभदायक भएको प्रत्यक्ष नै देख्न पाएको बताउँछिन्।

उनी भन्छिन्, “दुई महिना आफैमा त्यति धेरै समय त हैन, तर यो सहकार्यले विद्यार्थीहरुमा छोटो समयमै उनीहरुको सिकाई अनुभवको वृद्धि हुँदै व्यवहारिक एक्सपोजर प्रदान भएको छ। समाजमा रहेका चुनौतीहरको ज्ञानसँगै चुनौतिलाई सामना गर्न अनुसन्धान लगायतका अन्य अपरिहार्य सीपहरूको विकासमा विशेष सहयोग पुगेको छ।” उनले विद्यार्थीहरूको भावनात्मक परिपक्वता विकास भएको देखेकी छिन्।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई शिक्षाको हब बनाउने उद्देश्य बोकेको पाँचखाल नगरपालिकाको यस सहकार्य एक मानकको रूपमा स्थापित भएको बताउँछन्। पाँचखालका मुद्दाहरूमा विद्यार्थीहरूले अनुसन्धान र अध्ययन गरेर प्राप्त गरेको ज्ञान नगरपालिकाको लागि पनि ठूलो उपलब्धि भएको बताउँदै उनी भन्छन्, “शिक्षामा नविनतम प्रयास गर्ने यो हाम्रो एक कदम हो। हामी अझै पहलहरू गरेर यसलाई नीतिगत तहबाट नै संस्थागत गर्दै जानेछौं।”

2970
Shares

ट्रेन्डिङ