सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

1305
Shares
मण्डनदेउपुर नगरपालिकाको नयाँ भवनबाट सेवा शुभारम्भ

काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । ९ औँ संविधान दिवसको अवसर पारेर नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।

२०७२ सालमा संविधान जारी पश्चात भएको राज्य पुनःसंरचनामा साविकको तीन देउपुर (बालुपाटी देउपुर, नयाँगाउँ देउपुर र गौरीबिसौना देउपुर) तथा चार मण्डन (चण्डेनी मण्डन, महादेवस्थान मण्डन, जैसीथोक मण्डन र ज्याम्दी मण्डन) मिलेर २०७३ साल फागुन २७ गते घोषित यो नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ मध्ये सबैभन्दा कान्छो नगरपालिका हो ।

नगरपालिका घोषणा भएदेखि २०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएको करिब १ वर्षसम्म नगरपालिका कुन्ताबेसी स्थित साविक महादेवस्थान गाविसको कार्यालयबाट (हाल वडा नम्बर ७) सञ्चालन भएको थियो । उक्त भवनबाट सबै शाखा सञ्चालन गर्न ठाउँ अभाव भएपछि नीजि घर भाडामा लिएर नगरपालिकाले दैनिक प्रशासनिक सेवा प्रदान गर्दै आइरहेको थियो । ठाउँ अभाव हुँदा नगरपालिकाको विभिन्न शाखा समेत भाडाकै घरबाट सञ्चालन हुँदै आएको थियो ।

तर अब भने नगरपालिकाका सबै शाखा एउटै भवनबाट सञ्चालनमा आउने नगरप्रमुख वाईबाले बताउनुभयो । ‘लामो समय भाडाको घरबाट हामीले दिँदै आएको सेवा अब आफ्नै भवनबाट प्रदान गर्ने छाँै । हामीले संविधान दिवसको अवसर पारेर विधिवत रुपमा यस नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासनिक भवनबाट सेवा शुभारम्भ गरेका छौँ । यो एउटै भवनबाट सम्पूर्ण शाखाहरु सञ्चालन हुनेछ । भौतिक पूर्वाधारका हिसाबले हामी मालपोत र नापी कार्यालय समेत यही भवनबाट सञ्चालन गर्ने क्षमता राख्दछाँै ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

नगरपालिकाको नवनिर्मित भवन अपांगता मैत्री रहेको छ । नगरपालिका परिसरभित्र सहजै रुपमा ह्वीलचियर जान सक्ने ब्यवस्था छ । लिफ्टको समेत ब्यवस्था रहेकाले अपांगता भएका सेवाग्राहीलाई समेत सहज हुने नगरपालिकाले जनाएको छ ।

नवनिर्मित भवनबाट सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख विष्णुमणि नेपालले सबैको साथ र सहयोगले भवन सुविधा युक्त बनेको बताउनुभयो । उहाँले विकासका अन्य योजनाहरुलाई समेत थाती राखेर एउटै भवनबाट नगरबासीलाई सेवा प्रदान गर्ने हिसाबले नयाँ भवन निर्माण गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले नयाँ भवनबाट नागरिकका लागि नयाँ उत्साह र योजनाका साथ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले यसलाई नागरिकका लागि सहज सेवा प्रदान गर्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।

वडा नम्बर ७ को मनमतिडाँडा स्थित करिब ३३ रोपनी जग्गा नगरपालिकाले खरिद गरेर नयाँ भवन निर्माण गरेको हो । बीकेओआई जयमाता जेभीले भवन निर्माणको काम गरेको थियो । २०७७ साल पुस १० गते सम्झौता भएको थियो । २०७९ साल पुस महिनामा भवन निर्माणको काम सक्ने सम्झौता भएपनि कोभिडका कारण भवन निर्माणको काममा केही ढिलाइ भएको हो । जुन भवनमा ६२ वटा कोठा रहेका छन् । २०२ जना क्षमताको कन्फरेन्स निर्माणधिन रहेको नगरपालिकाका सब ईन्जिनियर एवं भवनका प्राविधिक संयोजक सुदर्शन कुमार साहले जानकारी दिनुभयो ।

यो भवनको शुरुको लागत ईष्टामिट २१ करोड ८० लाख ८६ हजार २९० रुपैयाँ थियो । त्यसमा १४ करोड २२ लाख ९४ हजार ९४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पछि भिओ गर्दा २३ करोड ८६ लाख ८१ हजार ७९० रुपैयाँ पुग्दा सम्झौता रकम पनि बढेर १५ करोड ४९ लाख ९९ हजार ७२ रुपैयाँ भएको थियो ।

 

1305
Shares

ट्रेन्डिङ