सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बुद्धचित्त मालाको कमिसन विवाद:काभ्रेका एक युवकको अपहरण

बुद्धचित्त मालाको कमिसन विवाद:काभ्रेका एक युवकको अपहरण

6235
Shares
बुद्धचित्त मालाको कमिसन विवाद:काभ्रेका एक युवकको अपहरण

काठमाडौँ । बुद्धचित्त मालाको कमिसनबारे विवाद हुँदा भक्तपुरको थिमीबाट एकजना युवक अपहरणमा परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका देव सिंह तामाङ अपहरणमा परेका हुन् ।

सोमबार साँझ अपहरित युवकलाई नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’बाट प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर राजन ढकाल नेतृत्वको टिमले अपहरण मुक्त गरेको थियो । अपहरणमा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–६ घर भएका भोज लामा उर्फ भोजे र तेमाल गाउँपालिका–५ घर भएका ३६ वर्षीय आशालाल लामा छन् ।आरोपितहरु विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए । आरोपितहरू विरुद्ध प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा चलाइएको छ ।

अपहरणमा संलग्न आशा लाल बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाका सालो हुन् । सामाखुसी बस्दै आएका ३३ वर्षीय भोज लामा मन्त्री तीर्थ लामाको पारिवारिक सदस्य हुन् ।

भक्तपुरस्थित थिमिबाट बा.२ ज २६७३ नम्बरको ट्याक्सीमा राखेर आरोपितहरूले युवकलाई मुलपानी, बौद्ध र चाबहिल हुँदै सामाखुसीमा लगेका हुन् । गोङ्गबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ मा बन्धक बनाएर आरोपितहरूले कुटपिट गरेपछि पीडितका आफन्तले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

बुद्धचित्त मालाको कमिसनबारे विवाद भएपछि देव सिंहलाई अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काभ्रेमा फल्ने बुद्धचित्त माला चिनियाँ नागरिकहरूले खरिद गर्ने गरेका छन् ।

चिनियाँ नागरिकले दिएको रकमबारे उनीहरूको बीचमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

6235
Shares

ट्रेन्डिङ