सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुगेकाे प्रहरीकाे दाबी

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुगेकाे प्रहरीकाे दाबी

1090
Shares
मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुगेकाे प्रहरीकाे दाबी

मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।

‘हामीले महत्त्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लिनेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्य/तथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिई हामी तपाईँहरूलाई जानकारी दिन्छौँ, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ’, प्रहरी नायब उपरीक्षक थापा भन्नुहुन्छ ।

उहाँका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आज आइतवार चारै जनाको शव परीक्षण हुने जनाइएको छ । गएकाे शुक्रवार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दशैँकाे टीका थाप्न त्यही वडामा रहेको माइती गाउँ कोटिल्ला जानुभएकाे थियाे । माइतीबाट टीका, जमरा लगाइसकेपछि उहाँ ८ गते बेलुका नै घर फर्किनुभएकाे थियाे । त्यही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीका क्रममा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रवार राति काठमाण्डाै विमानस्थलमा ओर्लेर आज मुगु पुग्नुभएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ ।

1090
Shares

ट्रेन्डिङ