सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रपतिले आममाफी दिएका व्यक्ति ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

राष्ट्रपतिले आममाफी दिएका व्यक्ति ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

980
Shares
राष्ट्रपतिले आममाफी दिएका व्यक्ति ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

चितवन । गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन्। थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन्।

पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो। राष्ट्रपतिबाट आममाफी पाएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पंडितका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट कल गरेर हिन्दी भाषा प्रयोग गरी धम्क्याएका थिए। २५ लाख रुपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए।
मकवानपुरको हेटौंडा–२ घर भई हाल भरतपुर–९ बस्ने थापाले पछि एनसेल नम्बरबाट बारम्बार फोन गरी धम्की दिएका थिए।

‘बुधबार साँझ अपरिचित व्यक्तिले फोनमा हिन्दी भाषामा आप ने हमको पचिस लाख देना पडेगा भन्यो। म आश्चर्यमा परें। मैले आप कौन हे, क्यूँ देना हे भनें। उसले ओ सवालका जवाफ हाम अभी दे नही सकते, लेकिन २५ लाख जम्मा करना चाहिए। कल शुभे दस बजे हम कल करेंगे। पैसा लेके रेडी होना, नहीँ तो आपके बेटेको अपहरण करेंगे भन्यो,’ सुवेदीले भने, ‘डरले मैले मसँग यति धेरै पैसा छैन भनें। तर बच्चाको लागि म तयारी गर्छु भनें।’

९ गते थापाको फेरि फोन आयो। सुवेदीले बार्गेनिङ गरेर २५ लाखबाट २० लाख रुपैयाँमा घटाए। थापाले उक्त रकम नदिए बाबु छोरालाई नै सुट गर्ने धम्की दिएको सुवेदी बताउँछन्। लगातारको धम्कीका कारण त्रसित भएपछि सुवेदी प्रहरीको सम्पर्कमा पुगेका थिए। सुवेदीले प्रहरी कार्यालयमा निवेदन दिएपछि जिल्ला प्रहरीले प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गर्‍यो।

‘बारम्बार फोन गरेर धम्की दिइरहे पनि बोलाएको ठाउँमा ऊ भेटिएन। सायद उसले भेट्न खतरा देखेको हुन सक्छ,’ सुवेदीले भने, ‘सोमबार साँझ भरतपुर अस्पतालको नयाँ गेट नजिकै भेट्न बोलायो। मैले पैसा दिनै लाग्दा प्रहरीले उसलाई समातिहाल्यो।’ डिएसपी पंडितले सुवेदीसँग पैसा माग गर्दै गरेको अवस्थामा थापालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘रेकर्ड हेर्दा विगतमा चितवन र ललितपुरमा चोरी, अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसूर, लागूऔषध लगायतका मुद्दा ऊविरूद्ध दर्ता भएका रहेछन्। ९ वर्षको कैद सजाय पाएको व्यक्ति ४ वर्ष ६ महिना ३ दिनमा आममाफी पाएर छुटेको रहेछ,’ डिएसपी पंडितले भने, ‘जानकारी पाएलगत्तै विशेष प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिन सफल भयौं।’

प्रारम्भिक बयानमा थापाले आरोप स्वीकार गरेको पंडितले बताए। थापाको परिवारसँग सुवेदीको चिनजान १७ वर्ष पुरानो हो। थापाकी श्रीमती सुवेदीको क्लिनिकमा मधुमेहको उपचार गराउँथिन्। सुवेदीले थापालाई कैद सजाय भएको र आममाफी पाएर छुटेको कुरा पनि थाहा थियो।

‘तर मलाई फोन गरेर धम्काउने व्यक्ति ऊ नै होला भन्ने कुरा त मैले कल्पना पनि गरेको थिइनँ,’ सुवेदीले भने, ‘सुरूआतमा २५ लाख रुपैयाँ माग्दा आश्चर्यमा परेको थिएँ। पछि रकम माग्ने व्यक्तिलाई देख्दा चकित भएँ।’

थापालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरू गरिएको डिएसपी पंडितले जानकारी दिए।

980
Shares

ट्रेन्डिङ